असोज ९ र १०मा पोखराको आकाशमा एयर फेष्टिवल
7-September-2015

पोखरा, भदौ २१। नेपालमै पहिलोपटक पोखराको आकाशमा एयर फेस्टिवल हुने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटन पूनरुत्थानको उद्देश्यसहित नेपाल हवाई खेलकुद संस्था ना ले आगामी असोज ९ र १० गते एयर फेस्टिवल गर्न लागेको हो ।

फेस्टिवलको नाम हिमालयन एयर फेष्टिवल गरुढा फन राखिएको छ । फेस्टिवल अन्तर्गत पोखराको आकाशमा प्याराग्लाईडिङ, अल्ट्रालाईट र प्यारा मोटरबाट विभिन्न भेषभूषामा रंगिविरंगी ध्वजा पतका सहित प्रदर्शनी हुने फेष्टिवल संयोजक नतासा श्रेष्ठले बताईन् ।

प्याराग्लाईडिङ पाइलटहरुले प्याराग्लाईडरलाई सजिसजाउ गरेर आकाशमा उडाउनेछन् भने अल्ट्रालाईट र प्यारामोटरमार्फत् विभिन्न रंगका धुवाँ र रविन फालिनेछ ।

फेष्टिवलमा झण्डै एक सय नेपाली र ५० विदेशी सहित डेढ सय पाईलटहरुले सहभागिता जनाउने नेपाल हवाई खेलकुद संस्थाका महासचिव वसन्त दवाडीले जानकारी दिए ।

पोखराको सराङकोटबाट उडान भरेर फेवा किनार खपौदीमा अवतरण गरिनेछ । फेष्टिवल सम्पन्न गर्न झण्डै ३० लाख रुपैया खर्च अनुमान गरिएको छ ।

Write a Comment