सर्वोच्च अदालत अगाडि र चावहिलमा आकाशे पुल बन्ने
6-December-2018


काठमाडौँ,मङ्सिर २०
सर्वोच्च अदालत अगाडि र चावहिलमा आकाशे पुल (फ्लाई ओभर ब्रिज) बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले बढी चाप हुने क्षेत्र पहिचान गरी हाललाई यी दुई ठाउँमा खोलेर सार्न मिल्ने खालको आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको हो ।

रामसाह पथमा अड्डा अदालत, स्वास्थ्य मन्त्रालय लगायत भिडभाड हुने कार्यालय भएकाले त्यहाँ आकाशे पुल अत्यावश्यक देखिएको महानगरपालिकाको शहरी पूर्वाधार विकास विभागका प्रमुख नारायणबाबु भट्टराईले जानकारी दिए ।चावहिल चोकमा पनि सडक यात्रुको चाप अत्याधिक रहेकाले तत्काल आकाशे पुल बनाउनुपर्ने अवस्था छ । ट्राफिक व्यवस्थापन, दुर्घटना न्युनिकरणका साथै पैदलयात्रुको सहजताका लागि यस्ता पुल उपयोगी हुने महानगरको विश्वास छ ।

चावहिलचोकबाट ५० मिटर पर चुच्चेपाटीतर्फ जाने बाटोमा आकाशे पुल बन्ने विभागका प्रमुख इञ्जीनियर प्रेमबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।उनका अनुसार दुवै पुलको डिजाइन समेत फाइनल भइसकेको छ । तर, रामसाह पथमा सडक विभागको पनि आकाशे पुल बनाउने योजना रहेकाले समन्वय गरेर काम नबाझिने गरी छलफल गर्ने तयारी रहेको प्रमुख भट्टराई बताउँछन् ।

‘सडक विभागले पनि वर्षेनी यस्ता पुलहरुको योजना बनाउने गर्छ, त्यसैले समन्वय गरेर जाने विषयमा केही दिनभित्रै हामी छलफलमा बस्छौं’, उनले भने । सडक विभागका अधिकारीसँग छलफल सकिएलगत्तै दुवै पुलको निर्माण कार्य अघि बढाउने महानगरपालिकाको योजना छ । बन्न लागेका यी दुवै पुल आवश्यकता परेको अवस्थामा खोलेर अन्यत्र सार्न मिल्ने हुन्छ ।

‘नट बोल्ट खोलेर सार्न मिल्ने खालको मेटल स्ट्रक्चरको पुल बन्न लागेको हो, आवश्यकता अनुसार यसलाई स्थानान्तरण गर्न मिल्छ’, इञ्जीनियर श्रेष्ठले भने । यसअघि यस्तो आकाशे पुल पुरानो बसपार्क अगाडि परीक्षणका रुपमा निर्माण गरिएको थियो ।सर्वोच्च अदालत अगाडि २२ मिटर लम्बाईको आकाशे पुल बन्नेछ भने चावहिलमा बन्ने आकाशे पुल १८ मिटर लम्बाईको हुनेछ भने दुवै पुलको उचाई ६ मिटर हुनेछ । दुवै पुलका लागि एक करोड ८० लाख बजेट छुट्टाइएको पूर्वाधार विभागका प्रमुख भट्टराईले बताए ।‘चावहिलको भन्दा सर्वोच्च अदालत अगाडिको पुलको लागत बढी पर्न जान्छ’, उनले भने ।

कम्तीमा थप १० वटा आकाशे पुल

काठमाडौं महानगरपालिका कम्तिमा १० वटा यस्ता सार्न मिल्ने आकाशे पुल बनाउने योजना बनाएको छ । जसका लागि महानगरपालिका गत आर्थिक वर्षमै पुल बनाउने ठाउँ पहिचान गरेको थियो । सर्वोच्च अदालत, चावहिल बाहेक टेकु भन्सार अगाडि, त्रिपुरेश्वर, काठमाडौं जिल्ला अदालत अगाडि, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा यस्ता पुल बनाउने महानगरपालिकाको योजना छ । बानेश्वरको संसद भवन अगाडि पनि आकाशे पुल बनाउने योजना थियो ।

तर, संसद भवन अगाडि आकाशे पुल बनाउँदा सुरक्षा थ्रेट हुने भन्दै रोकिएको महानगरपालिका स्रोत बताउँछ । चालु आर्थिक वर्षभित्र कम्तीमा तीन वटा पुल बनाइसक्ने महानगरपालिकाको लक्ष्य छ । जसका लागि महानगरपालिकाले १२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । महानगरपालिका यसअघि निर्माण गरेका आकाशे पुलमा निजी क्षेत्रलाई विज्ञापन राख्न दिएर आम्दानी गर्दै आएको थियो ।

गत आव ०७४/७५ मा महानगरपालिकाले विज्ञापनबाट १० करोड ९४ लाख ८६ हजार ७९ रुपैयाँ राजस्व असुली गरेको थियो । तर, अब बन्न लागेको आकाशे पुलमा विज्ञापन राख्न पाइने छैन ।

बनेका पुल मर्मत संभारको आवश्यक

हाल काठमाडौं महानगरपालिका भित्र सुन्धारा, न्युरोड, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ ।

अन्य स्थानका पुल भने तत्काल मर्मत गर्नुपर्ने अवस्था छ । वीर अस्पताल अगाडि रहेको आकाशे पुल अत्यन्त जीर्ण हुँदै गएको छ ।
अनलाइन खबरबाट 

Write a Comment

Events
Random Picks