कांग्रेस कास्कीका नेता बादल हत्याका आरोपि लामिछाने २६ दिनपछि छुटे
9-September-2015

मुद्धा चलाउने कुनै प्रमाण भेटिएन : सरकारी वकिल

पोखरा, भदौ २४ । कांग्रेस कास्कीका नेता रामजी पौडेल ‘वादल’ को हत्या आरोपमा पक्राउ परेका लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने २६ दिनपछि छुटेका छन् । हत्याको आरोपमा पक्राउ परेपनि हत्यामा संलग्न रहेको कुनै प्रमाण नभेटिएकाले उनलाई रिहा गरिएको हो । बुधबार जिल्ला अदालत कास्कीले उनको रिहाईको फैसला गरेको थियो ।

गत साउन २८ गते राति लेखनाथ १२ गगनगौंडामा भएको हत्याकाण्डका योजनाकार रहेको आरोपमा उनलाई साउन ३० गते पक्राउ गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेबिरुद्ध मुद्धा नचल्ने जानकारी सहितको रिहाई पत्र पठाएपछि उनलाई छाडिएको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए ।

छानविनको क्रममा उनि बिरुद्ध मुद्धा चलाउने कुनै प्रमाण नभेटिएकाले रिहाईको लागि सरकारी वकिलको कार्यालयले प्रहरीलाई बुधवार नै पत्राचार गरेपछि आफन्तको जिम्मामा छाडिएको हो । लामिछानेले हिरासतमा रहेका बेला पनि आफ्नो संलग्नता पुष्टी भए कारबाही भोग्ने भन्दै संलग्न जो कोहि भएपनि छिटो पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग राखेका थिए ।
हत्यामा प्रत्यक्ष संलग्न रहेका मध्ये पक्राउ परेका ४ जना र उनीहरुलाई भगाउन सहयोग गर्ने ५ जनालाई कास्की प्रहरीले भदौ १० गते सार्वजनिक गरेको थियो ।

घटनामा प्रत्यक्ष संलग्नताको आरोपमा पक्राउ परेका लेखनाथ १६ घर भई लेखनाथ १२ बस्ने ३० बर्षिय राजु रानाभाट, लेखनाथ १३ का ३० बर्षिय प्रकाश गुरुङ, लेखनाथ १३ सुकुम्वासी टोल बस्ने २० बर्षिय बले गुरुङ भन्ने अशोक गुरुङ र लेखनाथ १२ का २५ बर्षिय बिश्वास गौतममाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हत्यामा प्रत्यक्ष संलग्न भनिएका लेखनाथ १२ का २४ बर्षिय रविन केसी अझै फरार छन् ।

हत्यापछि हत्यामा संलग्न रहेको आरोप लागेकाहरुलाई भगाउन सहयोग गर्ने पाँच जना बिरुद्ध पनि प्रहरीले मुद्धा दायर गरेको छ । तनहुँ शुक्लागण्डकी ३ दुलेगौंडाका ३५ बर्षिय चन्द्र बहादुर थापा मगर, नवलपरासी सोमताथ नगरपालिका १ सुनवलका २५ बर्षिय भरत पौडेल, नवलपरासी पिठ्यौली २ घर भई गैडाकोट २ बस्ने ३४ बर्षिय मिन बहादुर घले, स्याङजा बिचारीचौतारा ७ घर भई हाल नवलपरासी गैडाकोट २ पुलचोक बस्ने २३ बर्षिय रवि क्षेत्री र कपिलबस्तु घर भई हाल रुपन्देही शिद्धार्थ नगर नगरपालिका १ बेलहिया बस्ने ३४ बर्षिय बिरेन्द्र कुमार रानामगरले हत्यामा प्रत्यक्ष संलग्नहरुलाई भगाउन सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा पक्राउ परेका सबै नेपाली कांग्रेसको भातृसंस्था तरुण दलमा आबद्ध हुन् ।

Write a Comment

Events
Random Picks