डिभी पिआर लिने कलाकारको पनि मलाई माया लाग्दैन : लालबाबु पण्डित
9-September-2015

काठमाडौं, भदौ २४ / डिभी पिआरधारी कर्मचारीका विरुद्ध अभियान नै चलाएका लसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूलाई डिभी पिआर लिने कलाकारको पनि माया नलाग्ने र नगर्ने बताएका छन् ।

मंगलबार र्याडिसन होटलमा आयोजित गीतकार प्रमिला भण्डारीको भिडियो एल्बमको विमोचन गर्न पुगेका मन्त्री पण्डितले कलाकारको डिभी(पिआर मोहप्रति संकेत गर्दै आफ्नो असन्तुष्टि पोखेका हुन्। नेपाली कलाकार भन्ने अनि अमेरिकामा पेट्रोल भर्ने डिपार्टमेन्ट स्टोरमा लुगा पट्याउने काम गर्ने प्रवृत्ति आफूलाई मन नपरेको बताए।

त्यस्तै उनले संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति रहेका शम्भुजित बाँस्कोटालाई लक्षित गर्दै भने, ’ मैले देखिरहेको छु नेपाल सरकारले विशिष्ट श्रेणीमा राखेको, अहिले सरकारी पद दिएको संगीतसँग आवद्ध मान्छेलाई र सरकारले त्यत्रो माया गरेको मान्छेलाई किन डिभी ग्रिनकार्ड चाहियो? किन ग्रिनकार्ड बोकेर बस्ने? अरू देशको संविधानप्रति किन वफादार हुने? नेपालको संविधानप्रति वफादार हुनुपर्दैन्?’