
पश्चिमी वायुको प्रभावले तीन दिनदेखि लगातार हिमाली र पहाडी क्षेत्रमा हिमपात तथा देशभर वर्षा भइरहेको छ ।
शनिबार राजधानी काठमाडौं उपत्यका वरिपरिका पहाडमा पनि हिमपात भएको छ ।
उपत्यका आसपासका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिमपात भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा २१.५ मिलिमिटर वर्षा भएको छ ।
सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, विराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ ।
आज काठमाडौंको न्यूनतम ६ र अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्रीमा झरेको छ । विराटनगरको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस छ ।
पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले भोलि आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ । पूर्वी क्षेत्रमा साँझतिर हल्का वर्षा हुने देखिन्छ, बाँकी भेगमा छिटफुट वर्षा भए पनि आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
आज देशको पूर्वी र मध्य भेगमा सामान्य बदली रही पश्चिमी भेगमा आंशिक बदली रहने छ भने मध्य र पूर्वी भेगका केही तथा पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । साथै हिमाली क्षेत्रमा मध्यम हिमपात हुनेछ ।
भोलि आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै हिमाली क्षेत्रमा हल्का हिमपात हुने महाशाखाको भनाइ छ । रासस