भक्तपुरमा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
8-April-2019


जक्सन डटकम
पोखरा, चैत २५

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आइतबार दिउँसो बा४९प ५४२७ नम्बरको मोटरसाइकललाई बा१९प ५०८९ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय दीपेन्द्र लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको र मोटरसाइकलमा पछाडि सवार काठमाडौं महानगरपालिका–३० बस्ने ३९ वर्षीय पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

दुवै सवारीसाधन र कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३४ वर्षीयको राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको पोखरेलले बताए। -रासस

Write a Comment

Events
Random Picks