पैसा लिने पत्रकार भनेर कसरी गर्व गर्नु ? : स्वेच्छा राउत
14-June-2019

काठमाडौँ, जेठ ३१

कोही नयाँ मान्छे आउनु, २ र ३ महिना फिल्म घोषणादेखि गीत, ट्रेलरदेखि फिल्म रिलिजका कार्यक्रमहरुमा धाउनु र ‘फिल्म पत्रकार’ बन्ने प्रक्रिया निकै सामान्य अनि सहज बनेको छ । काम सुरु गरेको केही महिनापछि आफ्नै मिडिया खोल्ने कन्फिडेन्स पनि हामी धेरैमा जाग्छ । पत्रकारपछि अनलाइन सञ्चालक अनि सम्पादक पनि आफै । क्यामेरा र माइक सम्हाल्न जाने झन् गज्जव । यो सब, कामसुरु गरेको ३ देखि ६ महिना भित्र नै हुन्छ ।

चलचित्र पत्रकारहरुको सख्या बढ्दो छ । साथै फिल्म विशेष पोर्टलहरु पनि सख्यात्मक हिसाबमा धेरै भएका छन् । यसरी संख्यात्मक रुपमा बढ्दै गर्दा लिंक खोलेर हामीलाई टिक्न र बिक्न सहयोग गर्ने पाठक र दर्शकका लागि चाहिं के गरेका वा दिएका छौं त रु हामीलाई पढ्दिन, हेर्दिन लायक सामाग्री दिएका छौं रु कि यो साता यो फिल्म घोषणा, हिजो यसको गीत रिलिज भयो, यो फिल्मको ट्रेलर आयो है भनेर सूचना मात्र प्रवाह गरिरहेका छौ ?

समाचार र सूचनामा पक्कै फरक छ । र पत्रकारको जिम्मेवारी समाचार लेख्नु हो । जानकारी सहित केही नयाँ र ताजा । किनकि ‘न्यूज इज नट न्युज इफ इट इज नट न्यू ।’

फिल्मकर्मी र फिल्म पत्रकारबीचको संजालमा सेयर भएर घुम्ने प्रायः लिंकहरु ‘यो फिल्मका लागि निर्देशक फलानो रहनेछन् । मुख्य कलाकार फलानो र यसलाई निर्माण गरेका हुन्’ भन्ने खालका सूचना दिने लिंक हुन्छन्, अपवाद बाहेक ।

एउटै जानकारी दिने सूचना धेरैवटा पोर्टलमा छापिन्छन् । छापिएका तीनै सूचनालाई ‘धन्यवाद प्यारा भाइ बहिनी’ लेख्दै ट्याग गर्ने फिल्म निर्माता र निर्देशकले पनि पत्रकार र अनलाइन पोर्टलको संख्या थप्नमा राम्रै भूमिका खेलेका छन् ।

एउटा नमिठो अनुभव ।

केही समय अघि एउटा नेपाली फिल्म प्रचार प्रसारको क्रममा थियो । निर्माताले भेट्ने प्रस्ताव राख्दा स्विकारे । लागेको थियो कुनै अन्तर्वाताका लागि बोलाइएको हो । केही बेर फिल्मकै विषयमा कुराकानी भएपछि निर्माताले सोधे पैसा चाहिँ मै दिउँ कि के गर्ने ?

अवाक् म । विज्ञापन लिने काम त म गर्दिन । मैले पनि प्रश्न नै गरे । ‘के को पैसा ?’ ओहो समाचार प्रकाशन गरे वापतको   पैसा रे !

त्यसपछिको गफपछि केही आन्तरिक कुराहरु थाहा भयो जसले फिल्म पत्रकार र फिल्म निर्माण युनिटलाई जोड्छ । मैले निर्मातालाई भने,‘काम नै समाचार लेख्ने हो । जसको लागि अफिसले नै पैसा दिन्छ ।’ एउटा निर्मातालाई त सम्झाएँ । तर, यो सब भइरहँदा मलाई थुप्रै निर्माता, निर्देशक याद आए । लाग्यो उनीहरुको पेमेन्ट लिस्टमा पनि मेरो नाम यसैगरी होला । उनीहरुसँग पनि मेरो नाममा कतिपटक पैसा लिइयो होला । मलाई लाज लाग्यो । फिल्मकर्मीकै अगाडि फिल्म पत्रकार भनेर चिनिंन ।

त्यसपछि उब्जेको अर्को ठूलो प्रश्न समाचार लेखे बापत् पैसा लिने पत्रकार भनेर चिनिंदा कुन खालको गर्व गर्नु होला ?

चलचित्र पत्रकारिता व्यवसायिक र यो क्षेत्रलाई मर्या्दित बनाउन यस्तो अस्वस्थ लेनदेनले सहयोग गर्छ रु जवाफ बिनाका प्रश्नको औचित्य छैन । तर, हामीले हिडेको बाटो ठिक छ की छैन समीक्षा आवश्यक छ । यसरी नै हिड्दा कहाँ पुगिन्छ त्यो पनि सोच्न पर्छ, सायद । किनकि आजको १० र २० वा केही वर्षपछि हामी फिल्म पत्रकारिता र पत्रकारको स्तरलाई कहाँ देख्न चाहन्छौं त्यो हिड्दै आएको बाटोले निर्धारण गर्छ । आखिर हामी पनि देखाइएको बाटोमा न चलिरहेका हौं ।

सबैमा एउटै जानकारी, भाषा भएका सूचना, ‘अनुमान लगाउन सकिन्छ’ वा अनुमानकारिता आदिले त हामीलाई पक्कै कहिँ नर्पुयाउला । फिल्म निर्माताहरुले सधैं पत्याउलान् भन्ने पनि त छैन ।

प्रविधि, इन्टरनेट, सामाजिक संजालको प्रयोगले हामीलाई पत्रकार बन्न सजिलो बनाइ दिएको हो । भोलि प्रविधिले अझै फड्को मार्दा हामी जहाँको त्यहिँ रह्यौं भने रु यसै पनि फिल्मकर्मीले फिल्मकै नाममा फेसबुक पेज, युट्युब च्यानल, ट्विटर ह्यान्डल बनाएर प्रचार प्रसार गर्न थालिसकेका छन् ।

त्यही मार्फत हरेक जानकारी अपडेट पनि हुन्छ । केही फिल्मी अनलाइनमा हुने भन्दा बढी हिट्स फिल्मको पेजमा देखिन्छन् । समाचार पोर्टलले गर्ने काम सामाजिक सञ्जालले गर्छ भने निर्माताले किन खर्च गरुन् मिडिया मार्फत गरिने प्रचार प्रसारका लागि ?

व्यवसायिक बनिरहेको फिल्म क्षेत्रमा निर्माताहरु पनि बाठा भइसकेका छन् । आफ्नो फिल्मको नाम भएको हेडलाइन देख्नासाथ लिंक सेयर गर्ने फिल्मकर्मी पनि यही छन् र प्रचारको लागि गरिने खर्च कथा र मेकिङमा गरौं भन्ने केही पनि यही छन् । त्यसैले फिल्म पत्रकारले पनि हेडलाइन बिकाउने कि कन्टेन्ट दिने सोच्नु पर्ने बेला भएकै हो ।

समस्या धेरै हुनुमा होइन । समस्या धेरै भएर पनि थोरै गर्नुमा हो ।  फिल्म पत्रकारिता व्यवसायिक बन्नुले फाइदा लिन सक्ने पत्रकार, अनलाइन सञ्चालक, हल सञ्चालक, फिल्म निर्माण युनिट, कलाकार आदि धेरै छन् । पेशागत, आर्थिक, सामाजिक कोणबाट नियाल्दा सबैभन्दा बढी फाइदा पत्रकारलाई नै हुने देखिन्छ ।

आहा ! प्रश्न गर्न पाउने अधिकार, चाहेको कुरा खोज्न, छान्न र भन्न पाउने अधिकार, सूचना स्रोतसम्मको पहुँच । तर हामी सतहमा रमाइ रहेका छौं । देखिएका कुराहरुलाई ‘हुनसक्छ’ भनेर लेखिदिन्छौं । बोलेको कुरालाई द्विअर्थी थम्बनेल राखेर पाठक र दर्शक तान्छौं । कतै कलाकारको लुगाको नापमा त कतै फिल्मकर्मीलाई गरिने सम्बोधनमा हामी अल्झिएका छौं ।

यो सब कुराहरुले हामीलाई बाँधेर राखेको सायदै सोचेका छौं । ‘आखिर उहाँ त यति निकट हुनुन्छ फिल्म चलेन भनेर किन नकारात्मक प्रचार गर्दिनु रु’ जस्ता भाव आइहाल्छ । यस्ता कुराहरु महसुस गरिरहँदा हामीले व्यक्तिगत वा भावनात्मक सम्बन्ध र पेशागत सम्बन्धबीचको फरक छुट्याउन नसकेको आफैमा छर्लङ्ग भइन्छ । र यो सबले हामीलाई स्वतन्त्र रहन र निरपेक्ष ढङ्गमा काम गर्न नदिने पनि थाहा हुन्छ । ‘तर, के गर्नुरु यसो नगरे गाह्रो छ’मा गएर जिज्ञासाहरुको ब्रेक लाग्छ ।

अवस्थालाई स्विकार्नु ट्रेन्ड परिवर्तनको प्रयास भन्दा सजिलो भएकाले हामी सजिलो तरिका अपनाउदै आएका छौं । मतलव छैन, मैले लेखेको हेडलाइन साथीले परिवारको अगाडि बसेर पढ्न सक्ने छ कि छैन भन्ने बारे । मतलव नहुनुले त धेरै कुरा बिगार्छ सम्बन्ध, दृष्टिकोण, पाठक प्रतिक्रिया, स्वस्थ आलोचनाको बाटो आदि सबै ।

फिल्म पत्रकारिताले जोडेको छ आम दर्शकलाई कलाकार र फिल्मकर्मीसँग, फिल्म प्रचार प्रसारमा सकारात्मक सहयोग भएको छ, फिल्मसँग जोडिएका हरेकले आफ्नो कुरा राख्ने ठाउँ पाएका छन् । सकारात्मक पक्षहरु नियाल्दा निकै मजा लाग्छ । अब यस्तै कुराहरुलाई सबै मिलेर मर्या्दित बनाएर अघि बढ्नु न हो ।

कति मज्जा हुन्छ हामी जोडिएको क्षेत्र बारे जानकारीमूलक केही दिन सके, मनोरञ्जन सम्बन्धी कन्टेन्ट पनि पनि मेनस्ट्रिम मिडिया वा पत्रपत्रिकाको मुख्य समाचार बने । सम्बन्धहरुको सम्मानसहित सत्य तथ्य सम्प्रेषणको मज्जा । फिल्मी अनलाइनमा फिल्मको बाहेक अन्य फरक फरक विज्ञापनहरु आउने बनाउन सके । दर्शकले के रुचाउँछन् त्यही मात्र खोज्नुभन्दा पनि यो चाहिं पढ्न वा हेर्न आवश्यक छ है भन्ने बुझाउन सके ।

समग्रमा फिल्म पत्रकारिता क्षेत्र व्यवसायिक बनाउन अत्यावश्यक छ । ताकि भोलि कसैले ‘बहिनी मेरो गीत ट्रेन्डिङमा आयो युट्युब लिंकसहित समाचार बनाइ देउ तरु’ सोध्ने ठाउँ नहोस् । बरु हामीले नै भन्न सकौं ‘हाम्रो अनलाइनमा अन्य युट्युब च्यानलमा प्रकाशित सामाग्रीको प्रचार गरिदैन’ ।

कसैको काँध नचढी आफ्नै बलबुतामा उभिने हिम्मत गरेर रोजेको बाटो हिड्न र खोजेको ठाउँ पुग्न त्यति गाह्रो छैन । तर, यसको लागि एउटा, दुइटा फिल्म पत्रकारले मात्र नभएर फिल्म पत्रकारिता क्षेत्रले नै एकपटक त रिस्क लिनै पर्छ ।

( स्वेच्छा राउत, पहिलो पोस्टसँग आबद्ध छिन् ।)

Write a Comment