सार्वजनिक यातायातमा महिला यात्रुलाई दिनहुँ सास्ती
21-June-2019


काठमाडौँ, असार ६

ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नुपर्‍यो।

सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए। महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उनलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका थिए। केही समय विवादपछि उनी ढोलाहिटीमा झरेर अर्को बसमा चढेर घर गइन्।

महर्जन बिहान कलेज पढ्ने र दिउँसो सहकारीमा काम गर्छिन्। दैनिक चार-पाँच वटासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा कहिले भाडाका निहुँमा, त कहिले झर्ने ठाउँ र सिटका विषयमा चालक तथा सहचालकसँग विवाद गर्नु पर्दा उनी हैरान छिन्। सरकारले विद्यार्थीका लागि दिएको छुट सार्वजनिक यातायातले दिन चाहँदैनन्। 

२५ रुपैयाँ भाडा तोकिएको ठाउँमा सहचालकले ‘यति रुपैयाँ त दिएकै छ नि’ भन्ने गरेका छन्। उनले भनिन्, ‘उनीहरुले तोकिएको ४५ प्रतिशत छुट दिन चाहँदैनन्।’ 

भक्तपुरकी सिर्जना थापा आफूले महिला सिटमा समेत सिट नपाउने गरेको बताइन्। महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालगायतका लागि तोकिएका सिटमा को बसिरहेको छ भन्नेमा चालक तथा सहचालकले ध्यान नदिएको उनले बताइन्। गर्भवती वा साना सन्तान लिएर सार्वजनिक यातायातमा यात्रा गर्न अझै कठिन भएको उनको अनुभव छ। उनले भनिन्, ‘गर्भवती वा साना नानी लिएका महिला देख्दा न त बसिरहेका अरू महिला वा पुरुष सिट छाड्न खोज्छन् न त त्यहाँका कर्मचारी नै त्यसलाई ध्यान दिन्छन्।’ 

उपत्यकामा चल्ने सवारीसाधनमध्ये साझा यातायात लगायत थोरैमा मात्रै चालक–सहचालकको व्यवहार राम्रो रहेको थापाले बताइन्। आरक्षित सिटमा को बसिरहेको छ हेर्नेदेखि बसमा चढ्नासाथ अशक्तलाई सिटमा राख्न कर्मचारी आफैं लाग्ने गर्छन्। त्यहाँका कर्मचारीको राम्रो व्यवहारकै कारण अरू धेरै बस छाडेर पनि साझा चढ्ने गरेको उनले बताइन्। भनिन्, ‘यात्रुसँग कसरी व्यवहार गर्ने भन्ने साझाबाट अरूले सिक्नुपर्छ।’ 

महर्जन र थापा प्रतिनिधि पात्र मात्रै हुन् काठमाडौं उपत्यकाका अधिकांश यात्रुले दैनिक यी र यस्तै समस्या भोग्ने गरेका छन्। सार्वजनिक यातायातमा चालक-सहचालकले झर्किएर बोल्ने, तोकिएको भन्दा बढी भाडा लिने र बस बिसौनीमा समेत नरोक्ने गरेको यात्रुको गुनासो छ। चालक–सहचालकले राम्रो व्यवहार नगरेकै कारण कतिपयले थोरै आम्दानी भए पनि बाध्यताले निजी सवारीसाधन चढ्नु परेको बताउँछन्। कतिपय यात्रु भने सहचालक सानो कुरामा समेत झगडा गर्ने भन्दै आफूलाई वा अरूलाई अन्याय पर्दा चुपचाप लाग्ने गरेका छन्।

चालक–सहचालकको व्यवहार सुधार गर्न सरकार र यातायात व्यवसायी दुवैले ध्यान दिनुपर्ने यातायात क्षेत्रका अभियानकर्मी राम थापाले बताए। यातायात व्यवसायीले नाफाका केही हिस्सा आफ्ना कर्मचारीको तालीमका लागि छुट्याउनुपर्ने उनको सुझाव छ। -साङकेतिक तस्बिर

Write a Comment

Events