म्याग्दीको नुनखानी कहिले उत्खनन् हुन्छ ?
11-October-2015

पोखरा, २४ असोज /म्याग्दीको शिख गाविसको काली गण्डकीको नदी किनारमा चार वर्षअघि फेला परेको नुन खानी सरकारी बेवास्ताका कारण अलपत्र परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा कालीगण्डकी नदी किनारामा २०६८ सालमा नुनिलो पानीको मुहान भेटिएको थियो ।

म्याग्दीको नुनखानी

म्याग्दीको नुनखानी

मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु गरे पनि आर्थिक अभावमा पूर्णता पाउन नसकेको तातोपानी संरक्षण समितिका सदस्य पूर्णबहादुर पुनले बताए । ‘तातोपानीसँगै नुनसमेत देखिएको छ’, उनले भने, ‘पानीको स्वाद नुन हालेको जस्तो भएकाले पनि खानी तथा भूगर्भ विभागमार्फत अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुन जस्तै पदार्थ देखिएको थियो । नुनखानी भेटिएका चार वर्ष भइसक्दा पनि सरकारले बेवास्ता गरेको स्थानीयबासीले आरोप लगाएका छन् । कालीगण्डकी नदीको किनारमा फेला परेको तातोपानीलाई संरक्षणका लागि डोजरले स्नान कुण्ड बनाउने क्रममा नुनको खानी फेला परेको स्थानीय समाजसेवी चन्द्रबहादुर पाइजाले जानकारी दिए ।

सो खानीको उत्खनन हुन सकेमा जिल्लाका लागि आवश्यक पर्ने नुन प्राप्त गर्न सकिने अनुमान गरिएको उनको भनाइ रहेको छ । उत्खननका लागि नमुना पठाइसकेका छौं, उनले भने । नुनखानी उत्खनन गर्न आवश्यक सहयोगका लागि स्थानीयवासीले सरोकारवालासँग सहयोग मागेपछि स्थलगत अवलोकनमा गएको एक टोलीले अन्य क्षेत्रको तातोपानीभन्दा स्वाद फरक रहेकाले यसको अनुसन्धान हुनुपर्ने बताएका थिए ।

Write a Comment

Events
Random Picks