सडक बालक बटुलेर जन्मदिन मनाए सञ्चारकर्मी बस्यालले
15-October-2015

पोखरा, २९ असोज । ‘म पनि यो देशको भविष्य हुँ, मलाई नहेप’ अंकित टिशर्ट लगाएर दुई दर्जन बालकहरु निकै हर्षित मुद्रामा देखिए । नौ वर्षदेखि १७ वर्ष उमेरका २२ जना सडक बालकहरु एक ठाउँमा भेला भए र विहीबार विहान एकै थलोमा खानपिन पनि गरे ।

कुकुरलाई काखी च्यापेर कारमा हिँडाउने धनीमानीदेखि धेरैले सडक बालबालिकाहरुलाई हेय दृष्टिले हेर्छन् । अपशब्द प्रयोग गर्दै धपाईहाल्ने प्रवृत्ति पनि छ । कुनै पनि बालबालिका अभाव र पीडा नभई सडकमा आउँदैनन् भन्ने कटुसत्य बिर्सन्छन् । बाध्यता भएर नै ती बालबालिकाहरु सडकमा खान, बस्न र सुत्न बाध्य छन् । सडकमा बस्दा उनीहरु आधारभुत आवश्यकताबाट समेत बञ्चित हुन्छन् । न खानको ठेगान हुन्छ न बस्नको । गतिलो लाउने कपडा हुँदैन । जस्तो पायो त्यस्तै खायो, हिँड्यो र त्यसमै रमायो । उनीहरुको संसार भनेकै सडक हुन्छ । 

यद्यपी उनीहरुलाई पनि राम्रो लाउने, खाने र बस्ने मन नहुने भने होईन । मुखमा डेड्रोईड, गम सुँघेर चुरोट सल्काउँदै हिँड्ने सडक बालबालिकालाई समाजमा पुनस्र्थापित गर्ने, अधिकार दिलाउने, आधारभूत आवश्यकता पूरा गरिदिने भन्ने नारा लिएर खोलिने गैरसरकारी संस्थाहरु सडकबालबालिका भन्दा धेरै छन् तर उनीहरुको अवस्था जस्ताको तस्तै छ । 

कहिलेकाँहि केहि मनकारी मान्छेहरुले उनीहरुलाई मिठो खाने र राम्रो लाउने व्यवस्था गरिदिन्छन् । र, उनीहरु त्यसमा खुशी हुन्छन् । विहीबार उनीहरुलाई यही मौका मिल्यो । पोखराका संचारकर्मी संजोक बस्यालले विहीबार पोखराका २२ जना सडक बालबालिकाहरुलाई टिसर्ट बाँडेका छन् । साथै उनले उनीहरुलाई विहानको खाना खुवाए । आफ्नो २८ औँ जन्मदिन उनले सडक बालबालिकाहरुको साथमा मनाएका हुन् । 

‘जन्मदिनमा विभिन्न तरिकाले खर्च गर्ने चलन हुन्छ । तर मैले परोपकारी जन्मदिन मनाउने योजना बनाएँ’– बिग एफएमका कार्यक्रम संयोजक बस्यालले भने– ‘त्यसैले मैले सडक बालबालिकाहरुलाई थोरै भए पनि खुशी बनाउन उनीहरुलाई खाना खुवाएर टिसर्ट बाँडेको हुँ ।’

सडक बालबालिकाहरुसँगै खानपिन गर्ने क्रममा उनले आगामी दिनमा पनि सडक बालबालिकाहरुको क्षेत्रमा काम गर्न आफु तत्पर रहेको उनले सुनाए । दशैँको मुखमै आएर मिठो खाना  र नयाँ टिसर्ट पाएपछि २२ जना सडक बालबालिकाहरु पनि निकै खुशि देखिए । 

Write a Comment