पोखरामा शशस्त्रका हबल्दार तेलको कालोबजारीमा संलग्न, ७५ लिटर पेट्रोल बरामद
23-October-2015

पोखरा, ६ कार्तिक । बजारमा भारतीय नाकाबन्दी पछि देखिएको ईन्धन अभावको मौका छोपेर कालोबजारी गर्नेहरुले अकुत सम्पती कमाईरहेका छन । सरकारले पेट्रोलियम पदार्थको प्रयोगमा मितब्ययिता अपनाउन आग्रह गरिरहेको बेला नेपाल सरकारकै शशस्त्र प्रहरीमा कार्यरत एक हबल्दारले प्रहरीको  खोलमा ईन्धनको कालोबजारी गरेको खुलासा भएको छ । 

अभाबको बेला पेट्रोलमा कालोबजारी गर्ने शसस्त्र प्रहरीका सहायक हवल्दार सहित दुई जना पोखराबाट पक्राउ परेका हुन ।  ठूलो परिमाणमा पेट्रोल संकलन गरी बढी मुल्यमा बेच्दै गर्दा उनिहरु विहिवार पक्राउ परेका हुन् ।

पोखराको लेकसाईड स्थित होटल प्यारामाउण्टमा कालोबजारीमा पेट्रोल बेच्दै गरेको अबस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ  । 

पक्राउ पर्नेमा शसस्त्र प्रहरी मुक्तिनाथ वाहिनीका पोखराका  शसस्त्र प्रहरी सहायक हवल्दार चक्र चिमाल र होटलका कर्मचारी अंकित थापा रहेका छन् । उनिहरुलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । 

बढी मुल्यमा पेट्रोल बेच्दै गरेको सुचनाको आधारमा ग्राहक बनेर गएको प्रहरीले चार सय रुपैया प्रतिलिटर पेट्रोल किनेपछि उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट ७५ लिटर पेट्रोल बरामद गरिएको छ ।

शसस्त्र प्रहरी सहायक हवल्दार चिमालले पेट्रोल ल्याउने र होटलका कर्मचारी थापाले बेच्ने गरेको प्रहरीले जनाएको छ । पेट्रोल कहाबाट ल्याएको भन्ने वारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दियो । शसस्त्र प्रहरी वल कालिका गण मालेपाटन स्थित पेट्रोलपम्पबाट प्रहरी कर्मचारीलेनै कालोबजारीमा पेट्रोल बिक्रि गरेको गुनासो आईरहेका बेला शसस्त्र प्रहरीकै सहायक हवल्दार ठूलो मात्रामा पेट्रोल सहित पक्राउ परेका हुन् । बजारमा अहिले पेट्रोलको कालोबजारी बढेको छ ।

नेपालको बोर्डरमा गएर पेट्रोल ल्याउने र बिक्रि गर्ने गिरोह नै सक्रिय भएको छ ।