निजी विद्यालयका सञ्चालकहरु तेल खोज्न सीमामा
25-October-2015

विद्रोही गिरी
नवलपरासी, कात्तिक ८ – नवलपरासीे दाउन्ने पूर्व नवलपुर क्षेत्रका निजी विद्यालय सञ्चालकहरु मंगलबारदेखि विद्यालय खुल्ने भएकोले भारतीय सीमा क्षेत्रमा डिजेल खोज्न ब्यस्त रहेका छन् ।

सीमा क्षेत्रका बासिन्दाले भारतीय नम्बर प्लेटको गाडीमा नेपालमा डिजेल ल्याउने र मोल मोलाइमा नेपालीहरुलाई  बिक्री गर्ने गरेका छन्  । भारतीय सीमा महेशपुर पुगेका नोबेल एकेडेमी कावासोतीका प्रधानाध्यापक भीमलाल कँडेलले  प्रति लिटर १ सय ३५ रुपैयाँका दरले  २ सय लिटर डिजेल खरिद गरेको बताउनुभयो । सिद्धार्थ आवासीय उच्च मावि, नवलपुर एकेडेमी र नोबेल एकेडेमी कावासोतीले सीमा क्षेत्रमा एक रात बसेर डिजेल किन्नु परेको जनाएका छन्  । 

विद्यालय खुल्ने बित्तिकै बसहरु बिद्यार्थी ओसार्नमा ब्यस्त हुनुपरेकाले विदाको समय उपयोग गर्दै डिजेलको जोहो गरेको सिद्धार्थ उच्च माविका प्रधानाध्यापक भोजराज दाहालले बताउनुभयो । ‘दैनिक  ४८ लिटर डिजेल खर्च हुन्छ १० दिनलाई पुग्ने तेल ल्याएँ’  प्रिन्सिपल दाहालले भन्नुभयो–‘ ढुवानी सहित प्रति लिटर एक सय ५० रुपैयाँमा डिजेल ल्याएँ यसले तिहार सम्म विद्यार्थीहरु बसमा विद्यालय आउन सक्छन’ । 

विद्यालय सञ्चालकसँगै ब्यापारीहरुसमेत सीमा क्षेत्रमा तेल खरिदका लागि गएका छन् । धान काट्ने र  जोत्ने बेला भएकाले ट्याक्टर धनीहरु समेत त्रिवेणी, भुजहवा, महेशपुर नाकामा पुगेका छन् । उनीहरुले महंगोमै इन्धन खरिद गरेपनि स्थानीय प्रशासनले कालो बजारी गर्नेलाई केही कारबाही गरेको छैन । 

copy :ujyaaloonline.com

Write a Comment