वीरगन्जमा गोली लागेर ‘भारतीय नागरिक’को मृत्यु, तनावपछि अनिश्चितकालीन कर्फ्यु
2-November-2015

वीरगन्ज, कार्तिक १६ । पर्साको वीरगन्जमा प्रहरीले चलाएको गोली लागेर सोमबार एकजनाको मृत्यु भएको छ । शंकराचार्य गेटनजिक प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर भारत रक्सौलका सोनुकुमार रामको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँगको झडपमा अरु ६ जना प्रदर्शनकारी पनि घाइते भएका छन् ।

यसैबीच, वीरगन्जमा प्रर्दशन चर्कंदै गएपछि स्थानीय प्रशासनले सोमबार दिउँसो ३ बजेदेखि नगर क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार बिहान ५ बजे सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको पाँच घन्टापछि वीरगन्ज–रक्सौल नाका फेरि आन्दोलनकारीको नियन्त्रणमा गएको हो ।

प्रहरीले लखेटेपछि भारतीय भूमिमा पुगेका आन्दोलनकारी पुन दशगजाको मितेरी पुलमा फर्किएका हुन् । उनीहरुले भारतीय भूमीबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए ।

सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएलगत्तै वीरगन्जमा रोकिएका करिब डेढ सय बढी भारतीय सवारी–साधन रक्सौल छिरेका थिए । भारतीय सवारी सीमा नकटुन्जेल आन्दोलनकारीलाई दशगजा क्षेत्रमा छिर्न नदिएको भारतीय सीमा सुरक्षा बलले त्यसपछि भने आन्दोलनकारीलाई दशगजामा प्रवेश दिएका थिए ।

भारतीय प्रहरीको अहसयोगपछि मितेरी पुलमा जम्मा भएका आन्दोलनकारीले फेरि प्रदर्शन गरेका हुन् । सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको भन्दै वीरगन्जमा मधेसी मोर्चा आवद्ध आन्दोलनकारीले ठाउँ–ठाउँमा प्रदर्शन गरे छन् । वीरगन्जको नगमा र घन्टाघर क्षेत्रमा आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो ।

यस्तै, प्रदर्शनकारीले वीरगन्जको छपकैया, बिर्ता, इनरुवा, मुरली र राघेमाईमा प्रर्दशन जारी राखेका छन् ।

यसैबीच, मोर्चाका कार्यकर्ताले पर्साको इलाका प्रहरी कार्यालय लंगरीमा आगजनी गरेका छन् । आगजनीपछि त्यहाँ कार्यरत प्रहरीहरुलाई इलाका प्रहरी कार्यलय पोखारियामा सारिएको छ ।

आन्दोलनकारीले वीरगन्जको घन्टाघरस्थित प्रहरी बिटमा पनि तोडफोड गरेका छन् । प्रहरीले बसपर्कमा हस्तेक्षप गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेपछि आन्दोनकारीले पनि प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।

Write a Comment

Events