काठमाडौंकै यस्तो ठाउँ जहाँ बस चढ्न हिउँद कुर्नुपर्छ
22-September-2019


जक्सन डटकम
काठमाडौं,  ५ असोज

शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ। यहाँको पटाप र  छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो।

यहाँका बासिन्दाले सहज रूपमा यातायात सेवा पाउन सकेका छैनन्। यस्तै साँखु, जरसिंह पौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडी चल्दैन।

अरुबेला पनि यो सडकको अवस्था उस्तै छ। हिलो र खाल्डाखुल्डीले गाडी चलाउन मुश्किल छ।

केराघारीका बासिन्दा सवारीसाधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन्।

स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताउँछन्।जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो।

यहाँका बासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ।

गाउँघरमा कोही बिरामी हुदाँ बोकेरै जहरसिंहपौवा पुर्‍याउनुपर्ने अवस्था छ। ‘काठमाडौं भनेर के गर्नुरु बिरामीलाई बोकेरै अस्पताल पुर्‍याउनुपर्छ। सडक छ गाडी चल्दैन’, स्थानीय जीतबहादुर तामाङले भने। 

वडाध्यक्ष सन्तबहादुर वाइवा घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताउँछन्। प्राकृतिक रूपमा रमणीय जहरसिंह पौवासम्म पुग्न निकै कठिन हुन्छ। हिलो र धूलोका कारण पर्यटक हैरान हुने गरेका छन्।

चाबहिल-जहरसिंहपौवा सडकखण्डमा ठाउँ ठाउँमा खाल्डाखुल्डी छन्।

‘भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ’, सो सडकखण्डमा यात्रा गर्दै आएका सन्तोष चौलागाईंले भने।

साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका बस्तीमा पुगिन्छ।

लप्सेफेदी र नाङलेभारेमा बर्खाको समयमा बस चल्दैन।

‘बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ’, चौलागाईंले भने। साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्रे गरिएको थियो। कालोपत्रे गरिएको छ महिना बित्न नपाउँदै सबै उप्कियो।

यहाँ विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङ बताउँछिन्।

‘हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन्’, उनले  भनिन्। - रासस

Write a Comment

Events
Random Picks