चीनले दिएको आधा पेट्रोल काठमाण्डौं आइसक्यो
10-November-2015

२४ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीका उत्पन्न संकटकालिन अबस्थामा सहयोग गर्न चीनले अनुदानमा दिएकोमध्ये झण्डै आधा पेट्रोल काठमाडौं आइपुगेको छ ।

निगमले विभिन्न चरणमा गरेर ६ लाख ५५ हजार लिटर पेट्रोल चीनबाट काठमाडौंको थानकोट डिपोमा ल्याएको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

सोमबार मात्रै २ लाख लिटर पेट्रोल डिपोमा आइपुगेको छ । अब निगमले चीनबाट ६ लाख ४५ हजार लिटर पेट्रोलको ढुवानी गर्न बाँकी छ । पछिल्लो पटक २५ वटा ट्यांकर तेल लिन केरुङ पुगेका छन् । उनीहरु मंगलबार बेलुकीसम्म काठमाडौं आउनेछन् ।

चीनले १ हजार मेटि्रकटन अर्थात १३ लाख लिटर पेट्रोल नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

पहिलो चरणमा १२ वटा ट्यांकरबाट ९८ हजार लिटर पेट्रोल ल्याएर निगमले चीनबाट अनुदानको तेल ढुवानी सुरु गरेको थियो । निगमले रसुवागढी हुँदै चीनको केरुङसम्म ट्यांकर पुर्‍याएर पेट्रोल ल्याइरहेको छ ।

पेट्रोलको ढुवानीलाई सहज गर्न निगमले आफ्ना केही कर्मचारीहरुलाई रसुवागढीमा नै राखेको खड्काले बताए । निगमले यसअघि नै चीनबाट ल्याएको पेट्रालको लागि ३ करोड ६४ लाख धरौटी राजश्व रसुवागढी भन्सारमा बुझाएको छ ।

चीनले केरुङसम्म ट्यांकरमा तेल ढुवानी गरेर नेपाली ट्यांकरमा खन्याउने गर्छ । केही दिनमै चीनले अनुदानमा दिएको सवै पेट्रोल काठमाडौं आइसक्ने नेपाल आयल निगमले जनाएको छ । चीनबाट तेल ढुवानी गर्न निगमले ४० वटा ट्यांकरलाई प्रयोग गरेको छ ।

चीनबाट पेट्रोल आएपछि निगमले गत बिहीबार, शुक्रबार र शनिबार निजी सवारीलाई तेल दिएको थियो । निगमले चीन र भारतबाट आएको तेल मिसाएर बजारमा पठाएको थियो ।

copy : onlinekhabar.com

Write a Comment