चीनबाट ग्यास ल्याउन असम्भव, विकल्पमा बंगलादेश
10-November-2015

२४ कात्तिक, काठमाडौं ।

चीनबाट ग्यास ल्याउने सम्भावना नदेखेपछि सरकारले बंगलादेशको विकल्पमा अध्ययन सुरु गरेको छ । यसका लागि आयल निगमले टोली नै पठाउने तयारी गरेको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धनको चरम अभाव छ । भारतीय सीमा नाकामा ३ सय ५१ वटा ग्यास बुलेट रोकिएको छ । र, तत्काल अवरोध हट्ने सम्भावना अझै देखिएको छैन ।

सरकारले सुरुमा चीनबाट अनुदानमा पेट्रोल ल्याएको ग्यास पनि ल्याउन सकिन्छ कि भनेर अध्ययन गरेको थियो । तर, चीनबाट ग्यास आउने सम्भावना नदेखेपछि बंगलादेश रोजिएको नेपाल आयल निगमले जनाएको छ ।

lpg gas/ jukson.com

ग्यास ल्याउने सम्भाव्यता अध्ययन गर्न आयल निगमको टोली बंगलादेश जाने पक्का भएको आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनलाइनखबरलाई बताए ।  ‘चीनबाट ग्यास ल्याउन सकिने कुराहरु पनि आएको थियो । तर, हामीले चीन भ्रमणबाट त्यो सम्भव नभएको स्पष्ट भएका छौं’-इन्धन आपूर्तिबारे छलफल गर्न चीन गएको नेपाली टोलीका सदस्य रहेका रहेका निगमका कार्यकारी निर्देशक खड्काले भने ।

सम्भावना कति ?

अधिकारीहरुका अनुसार बंगलादेशबाट पनि स्थलमार्गबाट ग्यास ल्याउन सोचे जस्तो सजिलो भने छैन । बंगलादेश ग्यास दिन तयार भएपनि नेपालसम्म ल्याउन भारतीय बाटो प्रयोग नगरी सुख छैन । झापाको काँडभिट्टा नाकाबाट भारतको नक्सालबारी हुँदै स्थलमार्गबाट बंगलादेश पुगिन्छ ।

नेपाल भूपरिवेष्ठित देश भएकाले अन्तर्राष्ट्रिय पारवाहन सन्धी अनुरुप भारतले बंगलादेशबाट आएको ग्यास रोक्न पाउँदैन ।  तर, अघोषित नाकाबन्दी गरेका भारतले अहिले पनि तेस्रो मुलुकबाट आएको समानहरु रोकेको छ । भोलि बंगलादेशबाट ल्याउने ग्यास पनि रोकेर असहयोग गर्न सक्ने अधिकारीहरु बताउँछन् ।

बाणिज्य मन्त्रालयका प्रवक्ता घिमिरेले भने एयर लिफ्टको विकल्प पनि रोज्न सकिने बताएका छन् । ‘एयर लिफि्टङ गरेर सकिन्छ या अरु कुनै विकल्पबाट सम्भव हुन्छ भन्ने टुंगो लगाउन टोली पठाउन भनेका हौं’ घिमिरेले भने ।

 

source:onlinekhabar

Write a Comment