पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरण अन्तिम चरणमा
11-November-2015

पोखरा  ,२५ कात्तिक | 

 पोखराको छिनेडाँडामा निर्माण गरिन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । 

airport cartoon / jukson.com

पहिलो, दोस्रो र तेस्रो चरणमा गरी हालसम्म २७६ जना जग्गाधनीलाई रु ९५ करोड मुआब्जा वितरण गरिएको छ । 

 

 

विमानस्थल निर्माणका लागि आजसम्म २०८ रोपनी जग्गाको मुआब्जा जग्गाधनीहरुले बुझिसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका वरिष्ठ अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए।

 

जसअन्तर्गत पहिलो चरणमा ७३ रोपनीको ५७ जना, दोस्रो चरणमा १२० रोपनीको १७८ जना र तेस्रो चरणमा १५ रोपनीको ४१ जनाले मुआब्जा बुझिसकेका छन् । 

 

अघिल्ला चरणमा मुआब्जा लिन छुटेका जग्गा धनीले मुआब्जा लिन आएमा म्याद बढाएर भए पनि मुआब्जा दिन सकिने परियोजनाले जनाएको छ । मुआब्जा वितरण कार्य सहज वातावरणमा सम्पन्न हुन लागेकाले अब विमानस्थलको निर्माण कार्य सुरु गरी अघि बढाउन सकिने भएको छ । 

 

अधिग्रहणमा घरटहरा परेका जग्गा धनीहरुले पनि मुआब्जा बुझेका छन् । परियोजनाले तेस्रो चरणको मुआब्जा वितरण कार्यक्रम पनि अन्तिम चरणमा भएको परियोजनाका सिनियर सुपरभाइजर दीपज्योति राजभण्डारीले जानकारी दिए।

 

आगामी पुस मसान्तसम्म जग्गाधनीले मुआब्जा लिन सक्ने छन् । यस चरणमा १२५ रोपनी जग्गाको मुआब्जा वितरण गरिनेछ । 

 

परियोजनाले बाटो भएको जग्गाको प्रतिरोपनी रु ६४ लाख र बाटो नभएको जग्गाको प्रतिरोपनी रु ४८ लाख दिने गरेकोे छ । घर तथा टहराका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयले तोकेको मापदण्डअनुसार मुआब्जा वितरण गरिने कार्यक्रम छ । 

 

विसं २०३२ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर ३१०६ रोपनी जमिन अधिग्रहण गरिएकामा नपुग ६२९ रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थलको काम अघि बढाउन लागिएको हो । रासस 

 

 

Write a Comment