पाल्पामा ढाका कपडाको व्यापारमा कमी
15-November-2015

पाल्पा,३० कार्तिक। पाल्पामा यसवर्ष ढाका कपडाको व्यापारमा कमी आउने भएको छ । भारतले गरेको अघोषित नाकाबन्दीले जिल्लामा भित्रने पर्यटकको संख्या न्युन हुँदा बिगतका वर्षको तुलनामा यसवर्ष ढाका कपडाको व्यापार खस्केको व्यापारीहरु बताउँछन् । ढाका कपडाका सामाग्रीमा यसवर्ष ७५ प्रतिशतले कमी हुने व्यापारीहरुको गुनासो छ ।

गतवर्ष करिब १२ करोडको हाराहारीमा ढाका कपडाको व्यापार भएकोमा यसवर्ष नाकाबन्दीका कारण ३ करोडमा झर्न सक्ने ढाका उद्योगीहरुको भनाई छ । लामो समयको नाकाबन्दीले जिल्लामा भित्रने पर्यटकको संख्या न्युन हुँदा व्यापारमा प्रत्यक्ष रुपमा ढाका कपडा व्यवसायीलाई असर पुगेको छ । 

पाल्पाली ढाका कपडा पसलहरुले ढाका पसलहरुमा चिनो तथा उपहार हुने खालका का लागि टोपी,आस्कोट,टाइ,ब्याग,पछ्यौरा सजाएर राखिएका छन् तर विक्री प्राय शून्य देखिएको छ । जिल्लामा साना ठूला गरी २० वटा ढाका कपडा उद्योग सञ्चालनमा रहेका छन् ।

उद्योगमा करिब पाँच हजारले रोजगारी पाएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए । यहाँ उत्पादित सामानहरु काठमाण्डौ, पोखरा, बुटवल, दाङ, नेपालगन्जसहित भारतमा समेत विक्री वितरण हुने गर्दछ ।

Write a Comment

Events
Random Picks