कता हरायो यत्रो इन्धन ?
16-November-2015

१ मंसिर, विराटनगर । भारतले अघोषित नाकाबन्दी लगाएयता पूर्वी नाका जोगबनीबाट मात्र १ सय ४५ ट्यांकर पेट्रोल, ४ सय ७७ ट्यांकर डिजेल र १ सय ४२ बुलेट ग्यास नेपाल भित्रिएको छ । जसमध्ये १ सय ८ ट्यांकर पेट्रोल, ३ सय ५७ ट्यांकर डिजेल र १ सय ६ वटा ग्यास बुलेट काठमाडौं पठाइएको छ ।

दसचक्के एउटा ट्यांकरमा २० हजार र ६ चक्केमा १२ हजार लिटर पेट्रोलियम (पेट्रोल–डिजेल) पदार्थ अट्छ । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ काठमाडौं पठाउन दसचक्के ट्यांकरकै प्रयोग भइरहेको स्रोतको भनाइ छ । काठमाडौं पुर्याइएका १ सय ८ ट्यांकरमा २१ लाख ६० हजार लिटर पेट्रोल थियो । ५ लिटरकै दरले वितरण गर्ने हो भन्ने जोगबनी नाकाबाट मात्रै काठमाडौं पुगेका पेट्रोल ४ लाख ३२ हजार सवारीसाधनले पाउँछ । असोज १८ देखि कात्तिक २९ गतेसम्म जोगबनी नाकाबाट विराटनगर डिपो आइपुगेका पेट्रोलियम पदार्थमध्ये ७५ प्रतिशत गृह मन्त्रालयको निर्देशनमा काठमाडौं पुर्याइएको नागरिक दैनिकमा खबर छ ।

काठमाडौंवासी भने पेट्रोलियम पदार्थको चरम अभाव झेल्दैछन् । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थमध्ये २५ प्रतिशत अर्थात् ३६ ट्यांकर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा वितरण गरिएको छ । छचक्के ट्यांकरको इन्धन विराटनगरमै राखिएको स्रोतको भनाइकै आधारमा एउटा ट्यांकरमा १२ हजार लिटर पेट्रोल हुन्छ । ३६ ट्यांकरलाई १२ हजारले गुणन गर्दा ४ लाख ३२ हजार लिटर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा आपूर्ति भएको छ । तर, कोसी–सगरमाथा अञ्चलमा पनि इन्धन वितरण सहज हुन सकेको छैन । नाकामा अवरोध भएयता विराटनगरका उपभोक्ताले लाइन लागेर ५ पटक ५ सय रुपैयाँको पेट्रोल मात्र लिन पाएका छन् ।

 

Write a Comment