शिक्षण पेशा छाडेर कृषिमा रमाउँदै सुवास जोशी
20-November-2019


जक्सन डटकम
खोटाङ, ४ मसिंर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवास जोशीको कृषि फार्ममा सात जना स्थानीय युवा कार्यरत छन् । दिक्तेलस्थित अल्छेढुङ्गामा सञ्चालन गरिएको कृषि फार्ममा काम गर्ने स्थानीय युवाको मासिक तलब रु दश हजारदेखि रु १५ हजारसम्म छ ।

कृषि फार्ममा काम गर्ने युवालाई खान, बस्न र लगाउन निःशुल्क छ । जोशीको फार्ममा ब्रोइलर कुखुरा, लेयर्स कुखुरा, राँगा, गाई तथा सुँगुर पालिएको छ । १९ वर्षसम्म शिक्षण पेशा गर्नुभएका जोशीले आफ्नो पुरानो पेशा छाडेर कृषि व्यवसाय शुरु गर्नुभएको हो । जोशीले पञ्च मावि दिक्तेलमा विसं २०५० देखि विसं २०५६ सम्म र विसं २०५६ फागुनदेखि विसं २०६९ साउनसम्म माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा शिक्षण गर्नुभएको थियो ।

जोशीको लेयर्स कुखुरा फार्ममा अहिले दैनिक दुई हजार १०० को हाराहारीमा अण्डा उत्पादन हुन्छ । उत्पादित अण्डा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको विभिन्न ठाउँ सञ्चालन गरिएको बिक्री केन्द्र तथा मुडे ब्यारेक, हलेसी गुल्म र जिल्ला प्रहरी कार्यालयमा खपत हुने गरेको जोशीले बताउनुभयो ।

ब्रोइलर कुखुरापालनका लागि आफ्नो नाममा त्रिशक्ति पोल्ट्री फार्म दर्ता गरेर व्यवसाय शुरु गर्नुभएका जोशीले स्थानीय बासिन्दाको समन्वयमा दोर्पा र पाथेकामा उपशाखासमेत सञ्चालन गर्नुभएको छ । करीब आठ वर्षदेखि व्यावसायिक कृषि पेशामा लाग्नुभएका जोशीले मासुका लागि ब्रोइलर कुखुरा, सुँगुर र राँगा तथा दूधका लागि गाई र अण्डाका लागि लेयर्स फार्म खोल्नुभएको छ ।

जिल्लामा पहिलोपटक कुखुरा फार्म शुरु गर्नुभएका जोशीले पछिल्लो समय अन्य कृषकलाई समेत एकीकृत बनाएर कालिका कृषि सहकारी खोल्नुभएको छ । जोशी सो संस्थाका संस्थापक तथा अहिले पनि अध्यक्ष हुनुहुन्छ । व्यवसायी जोशीले आसपासका नौवटा ब्रोइलर फार्मलाई दाना, चल्ला, औषधि दिनुका साथै निःशुल्क प्राविधिक सेवासमेत उपलब्ध गराउँदै आउनुभएको छ । जोशीको र्फाममा उत्पादित राँगा, कुखुरा र दूध जिल्लामै उपयोग हुन्छ भने, सुँगुर राजधानी काठमाडौँ पठाउने गरिएको जनाइएको छ ।

आफ्नै २२ रोपनी जग्गामा कृषि व्यवसाय सञ्चालन गर्दै आउनुभएका जोशीको सबै खर्च कटाएर मासिक आम्दानी रु ८० देखि ९० हजारसम्म हुने गरेको पाइएको छ । जिल्लामा अहिले ब्रोइलर कुखुराको मासु प्रतिकेजी रु ४००, सुँगुर रु ३०० र राँगा प्रतिकेजी रु ३५० मा पाइन्छ । अण्डा प्रतिकार्टुन ९२१० दाना०लाई रु दुई हजार ३०० र दूध प्रतिलिटर ७० मा बिक्री हुने गरेको पाइएको छ ।

एक छोरी र एक छोराका बुबा जोशीले अहिलेसम्म सरकारी निकायले केहिमा पनि साथ नदिएको आरोप लगाउनुभयो । “जिल्लामा केहि गरौँ भनेर कृषि व्यवसाय शुरु गरियो”, उहाँले भन्नुभयो, “सरकारी निकायबाट बाहिरी आयातलाई रोक लगाउँदै सहुलियत ऋण उपलब्ध गराएमा थप केही गर्न सकिन्छ भन्ने लागेको छ ।”

अण्डा र कुखुराको मासुमा जिल्ला आत्मनिर्भर रहेको घोषणा गरिए पनि बाहिरी आयातमा रोक नलगाउँदा घाटाको व्यापार गर्नुपरेको जोशीले बताउनुभयो । जोशीको फार्ममा पालिएका सुँगुर, राँगा र गाईलाई सोही फार्ममा उत्पादन गरिएको घाँस तथा दाना दिने गरिएको त्यहाँका कामदारले बताएका छन् । -रासस

Write a Comment

Events