अमेरिकाबाट अत्यावश्यक औषधि आउँदै
20-November-2015

अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफले नेपालका लागि अत्यावश्यक औषधि पठाउने प्रक्रिया सुरु गरेको छ । सो संस्थाले बढीमा १५ दिनभित्र नेपाल आइपुग्ने गरी औषधिको प्याकिङ सुरु गरेको नेपाली अधिकारीलाई जानकारी दिएको छ ।

डाइरेक्ट रिलिफ गत वैशाखमा गएको भूकम्पका वेला सबैभन्दा बढी औषधि पठाई सहयोग गर्ने विदेशी संस्था ठहरिएको थियो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका अनुसार सो संस्थाले लाइफ सेभिङ तथा इमर्जेन्सी औषधि तथा बढी अभाव देखिएका औषधि र उपचारका लागि अत्यवाश्यक देखिएका औषधि पठाउने बताएको छ । उसले आफूले प्याकिङ सुरु गरेको र बढीमा दुई साताभित्र औषधि नेपाल पठाइसक्ने जानकारी महाशाखालाई पठाएको छ । डाइरेक्ट रिलिफले अत्यावश्यक औषधि र उपकरणको लिस्ट मागेपछि केही समयअघि महाशाखाले औषधिको लिस्ट पठाएको थियो ।

महाशाखा निर्देशक डा. भीम टिंकरीले अत्यावश्यक औषधि पठाउने प्रक्रियामा डाइरेक्ट रिलिफ लागिसकेको जानकारी आएको भन्दै के–कति परिमाणको औषधि आउने भन्नेबारेमा भने थाहा नभएको बताए । ‘भूकम्पका वेला पनि निकै राम्रो सहयोग गरेको हो । यसपटक पनि उसले नेपालमा औषधिको अभाव छ भन्ने सुनेरै हामीसँग सम्पर्क गरेको हो । हामीले यथार्थ विवरण पठाएका छौँ । उसले सोहीअनुसार सहयोग गर्न सक्छ,’ टिंकरीले भने ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks