एसएलसीको नतिजा अब ग्रेडिङमा
10-December-2015

काठमाडौं, मंसिर २४ / सरकारले यस वर्षदेखि एसएलसीको नतिजा अक्षरांक प्रणाली (लेटर ग्रेडिङ)मा सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बिहीबार बसेको बैठकले यस्तो व्यवस्था गरेको हो । गत वर्ष प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीको मात्रै परीक्षणको रुपमा यो प्रणालीबाट नतिजा सार्वजनिक गरेको थियो ।

शिक्षा मन्त्री अध्यक्ष हुने परिषद् बैठकले परीक्षाफल नौ समूहमा विभाजन गर्ने निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार ९० देखि १०० प्रतिशतसम्म ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम प्रतिशत ल्याउनेलाई ‘बि प्लस’ ६० देखि ७० भन्दा कम ल्याउनको ‘बी’, ५० देखि ६० भन्दा कम अंक ल्याउनेलाई ‘सी प्लस’,  ४० देखि ५० भन्दा कम अंक ल्याउनलाई ‘सी’ उल्लेख गरेको सर्टिफिकेट पाउनेछन् ।

त्यस्तै २० देखि ४० भन्दा कम अंक ल्याउनेलाई ‘डी’, एक देखि २० भन्दा कम अंक प्राप्त गर्नेले ‘इ’ उल्लेखित शैक्षिक प्रमाणपत्र पाउने छ । शुन्यलाई एन समूहमा राखेको छ । यसलाई ग्रेडिङ गरेको छैन ।

यो व्यवस्था भएपछि विद्यार्थीको प्रमाण पत्र तथा लब्धाङ्क पत्रमा उत्तीर्ण/अनुत्तीर्णको व्यवस्था रहने छैन । यसको सट्टा समग्र ग्रेड दिइन्छ । यस्तो ग्रेड विषयगत तथा समग्र दुवै हुन्छ । परिषद् बैठकले डी र इ भन्दा कम अंक ल्याउने विद्यार्थीले माथिल्लो ग्रेड ल्याउन ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ । यो परीक्षामा सहभागी हुन दुई विषय मात्रै अनुत्तिर्ण हुनुपर्छ ।

अर्को वर्षमा प्राप्त गरेको ग्रेड समावेश गरेर लब्धाङक पत्र दिइने भएको छ । पौडेलका अनुसार बैठकले एसएलसी बाहेक अन्य तह वा कक्षामा पनि क्रमशः अक्षराङक प्रणाली लागू गर्न बाटो खुलेको छ ।

Write a Comment