नापतौल विभागका पूर्व प्रमुखले नै तेल ‘चोर्न’ सिकाए
14-December-2015

पेट्रोल पम्पहरूलाई तेल ‘चोर्न’ सिकाउनेमा गुणस्तर तथा नापतौल विभागका पूर्व महाप्रबन्धक रामआधार साहको मुख्य हात रहेको प्रहरीले निष्कर्ष निकालेको छ।

 

तेल चोर्ने पेट्रोल पम्पलाई कारबाही गर्नुपर्ने नियमन निकाय नापतौल विभागमा छँदा साहले पेट्रोलियम व्यवसायीलाई तेल चोर्न सिकाउनुका साथै त्यसका लागि चाहिने मेसिनको समेत बन्दोबस्त मिलाइदिएको छानबिनमा संलग्न प्रहरी स्रोतले बतायो।

 

पम्पहरूले मेसिन र रिमोर्ट जडान गरेर इन्धन चोरी गर्दै आएको प्रहरी छानबिनबाट खुलेको थियो। स्रोतका अनुसार त्यस्ता उपकरण कहाँ पाइन्छ भनी ठाउँ देखाइदिने र जडानको निम्ति मिस्त्री जुटाइदिने काम साहले गरेका थिए। वातावरण मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव साह प्रहरी नियन्त्रणमा छन्। उनलाई गौशालामा लुकेर बसेका बेला प्रहरीले पक्राउ गरेको थियो।

 

तेल चोरीमा साहको संलग्नता हालसालैको मात्र होइन। उनले २५ वर्षदेखि मेसिन बिगारेर ठगी गर्न पम्प सञ्चालकहरूलाई प्रोत्साहन गर्दै आएको छानबिनमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

 

स्रोतका अनुसार उनले सुरुमा ‘म्यानुअल’ पेट्रोल पम्पमा तेल चोर्ने मेसिन जडान गर्न सिकाएका थिए। त्यसपछि डिजिटल पम्पहरूलाई पनि तेल चोरीमा संलग्न गराए। यसका लागि पम्पमा ‘पल्सर चिप्स कार्ड’ भन्ने मेसिन जडान गर्नुपर्छ। त्यस्ता कार्ड र जडान गर्ने मिस्त्रीसमेत उनले भारतबाटै डाकिदिए।

 

साहले वीरगन्ज, हेटौंडा, चितवन र राजमार्गका पम्पहरूबाट यो धन्दामा हात हालेको प्रहरीको दाबी छ। ‘गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, नारायणीमा छँदा उनले ती क्षेत्रका पम्पमा त्यस्ता मेसिन फिट गर्न लगाएको फेला परेको छ,’ महाशाखाका एसएसपी सर्वेन्द्र खनालले सेतोपाटीसँग भने।

 

भारत, मोतिहारीका नसिम सिद्धिकीसँग मिलेर योजनाबद्ध रूपमा पम्पहरूसँग रकम असुलेर मेसिन फिट गर्ने गरेको खनालले जानकारी दिए। उनका अनुसार नारायणी क्षेत्रीय कार्यालयमा छँदा सुरु भएको यो धन्दालाई साहले काठमाडौं सरुवा भएपछि अझ तीव्रता दिए। उनले बढी इन्धन बिक्री गर्ने काठमाडौं उपत्यकाका पम्प सञ्चालकहरूसँग मिलेर मेसिन बिगार्नमा सहयोग पुर्याए। 

 

‘पेट्रोल पम्पहरूसँग वार्षिक चर्को रकम उठाउनमा पनि साह संलग्न देखिएका छन्,’ खनालले भने, ‘रकम नबुझाएका कतिपय पम्पमा उनले छापा मार्ने र योजनाबद्ध रूपमा सिल गरेको पाइएको छ।’

 

पम्पहरूमा तेल चोर्ने मेसिन जडान गर्ने गिरोहका मुख्य नाकके नसिम पक्राउ गरेपछि महाशाखाले उपत्यकाका २४ वटा पम्पमा छापा मारेको थियो। जसमा १३ वटा पम्पमा मेसिन बिगारेर सर्वसाधारणलाई ठगी गरेको भेटिएको थियो। ठगी गर्ने ७ जना पम्प सञ्चालक पक्राउ परेका छन् भने ६ जना फरार छन्।

 

राजधानी आयल स्टोर्स गोपीकृष्णका सञ्चालकहरू बुद्धरत्न महर्जन र दीपक थपलिया, न्यू पुष्पाञ्जली आयल जगबागेश्वरीका अमिर लामा, पूजाकोठी पम्प नयाँ बसपार्कका राजीव शर्मा, दिव्या सप्लायर्सका दिव्या श्रेष्ठ, प्रविण आयल स्टोरका प्रविणकुमार श्रेष्ठ र कामाख्या आयलका वासुदेव दाहाल फरार छन्।

 

प्रहरीले गायत्रीदेवी आयल स्टोर्स एकान्तकुनाका सञ्चालक शैलेन्द्रनाथ बादे, महालक्ष्मी विश्वकर्मा ट्रेडर्स चापागाउँका सञ्चालक शिव तिमल्सिना, युनिक फ्युल सेन्टर बालकुमारीका सञ्चालक गोपाल महर्जन, त्रिशक्ति सानेपाका युनिस प्रधान, क्रिस्टल बालाजुका कल्याण खड्का, भक्तपुर फ्युल सेन्टर्सका पुन्डेराम बाखाडेया, बंगलामुखी स्टोर्स सानोभर्याङका सीताराम घिमिरे पक्राउ परेका छन्।

 

त्यस्तै, प्रहरीले आइतबार नेपाल आयल निगम, थानकोट डिपो प्रमुख रविन शर्मालाई पनि पम्पहरूसँग मिलेमतो गरेको आरोपमा पक्राउ गरेको छ। उनले पम्प सञ्चालकहरूसँग रकम लिएर तेल वितरण गर्ने गरेकोसमेत खुलेको प्रहरीले जनाएको छ। साहमाथि अख्तियारले पनि अकुत सम्पत्ति कमाएको भन्दै छानबिन गरिरहेको छ ।

Write a Comment

Events
Random Picks