केजीएच ग्रुपले खोल्यो सराङकोटमा ‘हिमालय फ्रन्ट रिसोर्ट’
6-January-2016

नविन अर्याल

२२ पुस, काठमाडौं । सुन्दर नगरी पोखराको सराङकोटमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी कर्ण शाक्यको केजीएच (काठमाण्डौ गेस्ट हाउस) ग्रुपले ‘हिमालय फ्रन्ट रिसोर्ट’ सञ्चालनमा ल्याएको हो ।

भारतीय नाकाबन्दी र तराई आन्दोलनले धमाधम होटलहरु बन्द भइरहेका बेलामा शाक्यले पुस २४ गतेदेखि नयाँ रिसोर्ट सञ्चालनमा ल्याउन लागेको बताए ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा १५ करोड रुपैयाँ लगानी भएको छ । पाँच तलाको भवनमा ४४ वटा रुमहरु छन् । हरेक रुममा दुई/दुई वटा बेड छन् ।

रिसोर्टका हरेक रुमबाट आँखै अगाडि सुन्दर सेता हिमाल र पोखरा उपत्यका देखिन्छ । रिसोर्ट सुभारम्भ अवसर पारी रिसोर्टमा तीन महिनाका लागि नेपालीलाई ४ हजार ५ सय र विदेशीलाई ७ देखि ८ हजारमा रुम दिने केजीएच ग्रुपका प्रबन्ध निर्देशक दिवाकर राजकणिर्कारले बताए ।

यो मूल्य तिरेपछि दुई जनाले निःशुल्क ब्रेकफाष्ट, कुकिज विस्कुट र आफुलाई मन लागेको बेलामा चिया कफी खान पाइने छ । लञ्च र डिनरका लागी भने ग्राहकले छुट्टै मूल्य तिर्नुपर्ने हुन्छ । तीन महिनापछि विदेशी पर्यटकलाई प्रतिरात कर बाहेक दुई सय डलर तोकिएको छ ।

रिसोर्ट स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी खोलेको पर्यटन ब्यबसायी शाक्यले बताए । ‘यहाँ आउने विदेशी पर्यटकमा जापानी र युरोपेली बढी छन्’ शाक्यले भने- ‘पछिल्लो समय नेपाली पनि घुम्न थालेका छन्, नेपाली पनि हाम्रा मुख्य ग्राहक नै हुनेछन् ।’

नेपाली घुम्न निस्किएपछि सबैभन्दा बढी रमाइलो र खर्च गर्ने हुँदा आन्तरिक पर्यटकलाई पनि प्राथमिकतामा राखिएको राजकणिर्कार बताउँछन् । भारतीय र चिनियाँ पर्यटकले भन्दा नेपालीले बढी खर्च गर्ने गरेको उनको अनुभव छ ।

होटलको लाउञ्जबाट पोखरा पुरै १८० डिग्रीमा देखिने राजकणिर्कारले बताए । यहाँबाट पोखरा बजार, सेताम्मे हिमाल, हरियाली जंगल, नयाँ पुरानो एयरपोर्ट, मणिपाल हस्पिटल, सेतो गुम्वा लगायतका दृश्यहरु देखिन्छ ।

विन्दावासिनी मन्दिरबाट करिव २ किलोमिटर माथि रहेको रिसोर्टको छतमा सम्झनाका लागि २ वटा धरहरा बनाइएको छ । भिमसेन थापा र तत्कालिन रानीले बनाएका दुबै धरहराको स्मारक बनाएको राजकणिर्कारले बताए ।

संयुक्त प्याकेज

केजीएच ग्रुपले फेवातालमा रहेको ‘वाटर फ्रन्ट रिसोर्ट’ र ‘हिमालय फ्रन्ट रिसोर्ट’मा संयुक्त प्याकेज ल्याउन लागेको छ । ‘पोखरा जाने पर्यटक एक दिन फेवातालको रिसोर्टमा बस्नेछन्, अर्को दिन सराङकोटको रिसोर्टमा बस्नेछन्’ राजकणिर्कारले भने- ‘तीन महिनाका लागि नेपालीले संयुक्त प्याकेजको ९ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।’

सञ्जाल विस्तार गर्दै

केजिएच ग्रुपका होटल तथा रिसोर्टहरू

नेपाली पर्यटन उद्योगको विकाशमा सक्रिय शाक्यले आफ्नो संजालमा बस्ने पर्यटकको सुविधाका लागि नयाँ नयाँ योजना पनि ल्याउँदैछन् ।

केजीएच ग्रुपले सञ्चालन गरिरहेको ७ वटा होटल तथा रिसोर्टलाई निःशुल्क यातायात सञ्जालले जोडिने भएको छ । बुढानिलकण्ठमा बसेको पर्यटक पोखरा पुग्नुपरेमा निःशुल्क यातायात सुविधा दिइने छ । केजीएचको एउटा होटलबाट अर्को कुनै पनि होटलमा पुग्दा यातायात शुल्क नलिने तयारी गरिरहेको राजकणिर्कारले बताए ।

केजीएच ग्रुपले काठमाडौं, पोखरा, सौराहा र लुम्बिनीमा होटल चलाइरहेको छ । यी चारवटा होटलको ‘ट्राञ्जिट प्वइन्ट’ मुग्लिन हुनेछ । काठमाडौंबाट पोखरा जाने पर्यटकलाई मुग्लिनमा अर्को गाडी लिन आउने छ । लुम्विनी जाने पर्यटक लिन त्यहीँकै गाडी आउनेछ । यसो हुँदा पर्यटकलाई ठूलो राहत हुने विश्वास राजकणिर्कारको छ ।

- See more at: http://www.onlinekhabar.com

Write a Comment

Events
Random Picks