काठमाडौंमा भारतीय परिचयपत्र भिरेर हिंड्ने नेपाली छ्याप्छ्याप्ती
13-January-2016

काठमाण्डु, ३० पुस– काठमाण्डुका क्यासिनोले नेपाली जुवाडेलाई भारतीय नागरिकको परिचयपत्र बनाएर जुवा खलाउने गरेको खुलेको छ ।
सोल्टी होटलस्थित क्यासिनो मोेजाङबाट प्रहरीले भारतीय परिचयपत्र बोकेका नेपाली पक्राउ गरेपछि क्यासिनोको नयाँ धन्धाको रहस्य खुलेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले गत शनिबार बेलुका क्यासिनो मोजाङमा छापा मारी गुर्जुधाराका श्रवणकुमार शाहीलाई पक्राउ गरेको थियो । उनी अजय साहको नाममा भारतीय निर्वाचन आयोगले जारी गरेको परिचयपत्रका आधारमा क्यासिनो प्रवेश गरेका थिए ।

क्यासिनोका महाप्रबन्धक र सेक्युरिटी अफिसरलाई पनि प्रक्राउ गरेकोमा प्रहरीले उनीहरूलाई तारेखमा राखेर अनुसन्धान गरिरहेको छ । क्यासिनोमा नेपाली प्रवेश गरेकोबारे आफूहरूलाई थाहा नभएको उनीहरूले दाबी गरेका छन् ।

भारतीय निर्वाचन आयोगका मतदाता परिचयपत्र बनाउने भारतीय नागरिक राकेश गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । न्युरोडमा व्यापारसमेत गर्ने गुप्ताले धेरैलाई भारतीय कार्ड बनाउने गरेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार क्यासिनोले नै जुवाडेहरूलाई क्यासिनो छिराउन नक्कली परिचयपत्र बनाउने गरेको छ ।
नयाँपत्रिका दैनिकबाट

Write a Comment

Events
Random Picks