स्वर्णयुगमा भूकम्पले भत्केको विशालकाय कैलाशकूट दरबार पुनर्निर्माण होला ?
23-January-2016

काठमाण्डु, १० माघ–पुनर्निर्माण महाअभियान अन्तर्गत भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ । तर, यस्तै महाभूकम्पले नष्ट भएको विश्वास गरिएको एक प्राचीन दरबार भने अझै पृथ्वीको गर्भमै छ । त्यो पनि टाढा होइन, काठमाण्डुकौ हाँडीगाउँमा भएको अनुमान छ । त्यसरी उत्खनन् र अनुसन्धानको अभावले मिथक बनेको दरबार हो, कैलाशकूट ।
१ हजार ४ सय वर्षअघि लिच्छवि राजा अंशुवर्माले बनाएको यो दरबार वास्तुकलाको श्रेष्ठतम नमुना थियो । सात तले, किम्मति पत्थरको कलात्मकताले भरिपूर्ण अनि छानामा १० हजार मानिस अटाउँने जस्ता मिथक कैलासकूटसँग जोडिएका छन् ।
सातौ शताब्दीमा चिनियाँ राजदूत वाङ हुएन त्सेले कैलाशकूट बारे गरेको वर्णन यस्तो छः 

नेपालको राजधानीमा २० चो अर्थात झन्डै २ सय ३० फिट अग्लो र ८० पो अर्थात ९ सय २० फिट फराकिलो तले भवन निर्माण भएको छ । यसको माथिल्लो भागमा १० हजार मानिस अट्छन् । यो तीन बार्दलीमा बाँडिएको छ । र प्रत्येक बार्दलीलाई सात तलामा बाँढिएको छ । चौथो डबलीमा अचम्मित तुल्याउँने मूर्तिहरु छन् । तिनीहरु ढुंगा र मोतीले सुसज्जित छन् । दरबारको मध्यभागमा साततले तामाको छाना भएको बुर्जा छ । यसको दलिन, रेलिग, खम्बालगायत सुन्दर किम्मती पत्थरले बनेका छन् ।

बुर्जाका चार सुरमा तामाका नल लागेका छन् । नलका तलतरि सुनौला मकर गोही छन् । मकरका मुखबाट बेगले पानीको फोहोर निस्कन्छ । बुर्जामाथि हालिएको पानी नलबाट तल झर्छ । त्यो पानी छहरा जस्तै भई सुनौला मकरको मुखबाट निस्कन्छ । हलको मध्यभागमा फूल र अत्तर छर्किएको छ । नरेन्द्रदेवका अधिकारी, प्रतिहार र दरबारियाहरु आँगनको दायाँ र बायाँ बसेका छन् । उनको छेउमा सयौँ हतिराधारी सैनिकले पहरा दिइरहेका छन् ।

नेपाल साप्ताहिकबाट (तस्बिर प्रतिकात्मक)

Write a Comment

Events
Random Picks