फेसबुकको नक्कली प्रेमले बिचल्ली
25-January-2016

तीन साताअघि यमी श्रेष्ठ श्रीमान्की पूर्वप्रेमिकाविरुद्ध फेसबुकमा जथाभावी लेख्दा पक्राउ परिन् । श्रीमान्की पूर्वप्रेमिकासँग झगडा भएपछि प्रतिशोध लिन उनले फेसबुकमा अश्लील कुराहरू लेख्न थालिन् । सोही आरोपमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा अदालतले धरौटीमा छाडेर मुद्दा प्रक्रिया अघि बढाएको छ ।

प्रहरीमा दैनिकजसो फेसबुकसम्बन्धी उजुरीहरू पर्न थालेका छन् । जसमध्ये धेरैजसोले प्रतिशोध लिन नक्कली फेसबुक पेज बनाएर जथाभावी लेख्ने र अश्लील फोटोहरू पोस्ट गर्ने प्रवृत्ति धेरै रहेको महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपति राय बताउँछन् । जसमा धेरैजसोमा मिलापत्र हुने गरेको छ भने गम्भीर घटनामा प्रहरीले मुद्दा चलाउँदै आएको छ । फेसबुकको दुरुपयोग गर्दा हुने सजायबारे जानकारी नहुँदा पनि यस्तो प्रवृत्ति बढेको प्रहरीको भनाइ छ ।

क्यानाडामा सरकारी जागिरमा रहेका बंगलादेशी मूलका युवक डेआको फेसबुकबाट नेपाली युवतीसँग चिनजान भयो । फेसबुककै चिनजानबाट उनीहरू प्रेममा गाँसिए । भर्चुअल प्रेमलाई सफल बनाउन उनी केही महिनाअघि नेपाल आए । र, थाइल्यान्डसम्म घुम्न गए । यसबीचमा युवतीलाई उनले एक करोडभन्दा धेरै रकम सहयोग गरिसकेका छन् ।

िबिहेको योजनासहित डेआ दोस्रोपटक नेपाल आए । तर, युवतीले बिहे गर्न नसक्ने बताइन् । परिवारले विदेशीसँग बिहे गर्न नमानेको उनको भनाइ थियो । आफ्नो पैसा लिन मात्र युवतीले प्रेमको नाटक गरेको उनलाई शंका लाग्यो । उनी प्रहरीमा पुगे । प्रहरीले युवतीलाई पक्राउ गर्‍यो । दुई पक्षबीच मिलापत्र भयो । युवतीले केही रकम फिर्ता गरिन् । तर, ठगिएको सबै रकम नपाएको भन्दै क्यानेडियन युवक यतिवेला फेरि प्रहरी कार्यालय धाइरहेका छन् । फेसबुकको प्रेमले उनले प्रेममा चोट त खाए नै पैसा पनि गुमाए ।

Write a Comment