हिमपातले मनाङकाे सडक अवरुद्ध, पदमार्ग खुला
28-January-2016

माघ १४, २०७२- हिमपातका कारण हिमाली जिल्ला मनाङको सडक अवरुद्ध बनेको छ । हिउँ जमेकाले तल्लो मनाङको दानाक्यूबाट माथिल्लो मनाङ सम्म सवारी आवगमन हुन सकेको छैन ।

सडकमा सवारी गुड्न नसकेपछि स्थानियलाई आवतजावतमा समस्या परेको छ । पदमार्गमा हिँड्ने पर्यटकका लागि भने खासै समस्या नभएको स्थानियले बताएका छन् । यो बाटो विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्ग हो । 

‘हिउँ जमेर बाटो बन्द भयो,’ पिसाङका म्हिथेव (अध्यक्ष) याङडुङ गुरुङले भने, ‘हिउँ अलिअलि परिरहेको छ । बिहान बेलुका बरफ जम्छ ।’ जाडोका कारण स्थानीय आगो तापेर बसेको उनले बताए । ‘गाडी १ सातादेखि आएको छैन । मान्छे त हिउँ माथि पनि हिँडिहाल्छन् नि,’ उनले भने, ‘गोराहरु पनि आइरहेका छन् । हामी पनि हिँडेका छौँ ।’ चिसोका कारण धाराबाट आउने पानी जमेको उनले बताए ।

चामेस्थित होटल मस्र्याङ्दी मण्डलाका संचालक पाल्साङ गुरुङले हिँउ परेपनि पर्यटक आइरहेको बताए । ‘होटलमा ५/६ जना पर्यटक छन् । हिउँ फुरफुर परिरहेको छ, यस्तोमा पर्यटक रमाइरहेका छन्,’ उनले भने, ‘यसअघि परेजस्तो गरि अस्तव्यस्त नै हुने गरि परेको छैन ।’ उनका अनुसार स्थानीयबासिन्दा पनि वातावरणसँग भिजेकाले यसलाई नयाँ रुपमा लिएका छैनन् । ‘तापक्रम त माइनस ५/६ डिग्री सेन्टिग्रेट छ’ उनले भने, ‘यति त हामीले पचाएका छौँ । तापक्रम विस्तारै घट्दै छ ।’ 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना –एक्याप) मनाङका दिलिप गुरुङका अनुसार माथिल्लो मनाङमा हिउँ जमेको छैन । पर्यटकहरु आइरहेका छन् । ‘अस्ति नै परेको हिउँ पग्लिसक्यो । फुरफुर हिउँ झरिरहेपनि जम्ने गरि छैन । उनीहरु गन्तव्यमा लागेका छन्,’ उनले भने, ‘थोराङ्ला (५ हजार ४ सय १६ मीटर’ मा पनि हिउँ धैरै परेको छैन भन्ने सुनेको छु ।’ उनका अनुसार मनाङमा आउने पर्यटक गन्तव्यमा जाने गरेका छन् । ‘मौसममा खराबी देखिने वित्तिकै हामी पर्यटकलाई सचेत गराउँछौँ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले तल्लो क्षेत्रको दानाक्यु हुँदै चामे र चामेदेखि माथिल्लो मनाङसम्मको मोटरबाटो अवरुद्ध भएको बताए । ‘तिमाङसम्मको हिउँ फालेर हुन्छ कि के गरेर हुन्छ, हामी, सेनाप्रहरी मिलेर खुलायौँ,’ उनले भने, ‘बरफ जम्दो रहेछ, गाडी हिँड्नै मिलेन ।’ 

उनले माथिल्लो मनाङको सडक खुलाउने प्रयास गरिएपनि नसकिएको बताए । ‘हिउँ कहिले धेरै पर्छ, कहिले थोरै,’ उनले भने, ‘खुलाएर के गर्ने, यो हिउँ पर्ने मौसम हो, आएर ढाकिहाल्छ ।’ 

चक्रीय अन्नपूर्ण पदमार्गको माथिल्लो मनाङस्थित भ्राताङ नजिकै पदमार्ग र सडकमा परेको हिउँ पग्लिएको अवस्थामा ।



Source:http://kantipur.ekantipur.com/news/2016-01-28/20160128132157.html