युवतीमाथिका तीन आक्रमण, जसले देशैभरि सनसनी मच्चाए
16-February-2016

रमेश धमला

मिति:  १० फागनु ०७१
समय:  बिहान ६ बजेतिर
स्थान:  वसन्तपुर, काठमाडौं

संगीता मगर, सीमा बस्नेत र हेमु मुखर्जी पढ्नका लागि वसन्तपुरस्थित ए-प्लस ट्युसन सेन्टर पुगेका थिए । पढाउने शिक्षक नआइपुगेकाले कक्षा कोठामा अध्ययनबारे छलफल गरिरहेका थिए । त्यही बेला एक युवक आएर संगीता  मगरलाई लक्षित गरी एसिड प्रहार गर्छ । संगीतासँगै रहेकी सीमा बस्नेतको अनुहारमा पनि एसिड लाग्छ । एसिड प्रहार गरेलगत्तै आक्रमणकारी फरार हुन्छ ।

संगीता र सीमा रुँदै-कराउँदै घरतिर गए । प्रहरीले घटनालगत्तै आक्रमणकारीको खोजी सुरु गर्‍यो । तर, अभियुक्तलाई पक्रन सकेन । घाइतेहरुको बयानका आधारमा आक्रमणकारीको स्केच तयार भयो । अन्ततः झन्डै महिना दिनपछि एसिड आक्रमणका आरोपी जीवन विक प्रहरीको फन्दामा परे ।

०६९ जेठबाट जीवन विक र संगीता मगरको परिवार वसन्तपुरस्थित एउटै घरमा डेरा गरर बस्दै आएका थिए । एउटै घरमा बस्ने जीवनले संगीतालाई घरमै ट्युसन पढाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सोही क्रममा जीवन र संगीता नजिकिएका थिए ।

जीवन संगीतासँग नजिकिएको संगीताको भाइले थाहा पाए । त्यसपछि दुई परिवारबीच विवाद सुरु भएको थियो । विशेषगरी संगीताको परिवारले गरेको गालीबाट मनमा चोट पुगेको र त्यसपछि संगीतामाथि आक्रमणको योजना बनाएको जीवनले बयानमा बताएका थिए । अहिले जीवन कारागारमा छन् ।

घरमै ट्याक्टर चलाउनेले ज्यान लियो ऋतुको
धनुषाका २७ वर्षीय विमलेश प्रसाद यादव अहिले कारागारमा छन । २० मंसिर ०७१ मा काठमाडौंको घट्टेकुलोमा भएको एक युवती हत्याकाण्डको अभियोगमा विमलेश कारागार पुगेका हुन् । धनुषाकै २० वर्षीया ऋतु महासेठको हत्या गरेको अभियोग विमलेशलाई लागेको छ ।

बिहान ११ बजेतिर साथीको विवाहमा हिँडेकी ऋतुको घट्टेकुलोमा छुरा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । धनुषामा हुँदा ऋतुकै घरमा ट्रयाक्टर चलाउने विमलेशले आफूलाई पे्रममा धोका दिएको भन्दै ऋतुको ज्यान लिएका थिए । युवतीको छुरा प्रहार गरेर हत्या गर्ने विमलेश घटना भएको चार दिनपछि पक्राउ परेका थिए ।

साथी नै घातक बनेपछि ज्यान गयो योरुनाको

गएको १९ माघ बिहानै पोखरा नयाँगाउँस्थित सडक किनारमा एक युवतीको शव भेटियो । शव नयाँगाउँकै १८ वर्षीया  योरुना पुनको थियो । घटनाको प्रकृति हेर्दा विभत्स किसिमको हत्या भएको देखिन्थ्यो ।

हत्याको विरोध पोखरामा मात्रै सीमित रहेन, देशैभरि सनसनी मच्चियो । जसले अभियुक्त पक्राउ गर्न प्रहरीलाई निकै दबाब दिइरहेको थियो ।

अन्ततः प्रहरी अनुसन्धानपछि हत्याको आरोपमा नयाँ गाउँकै सतिश भनिने कीर्तन खड्गी पक्राउ परे ।

प्रहरीका अनुसार झन्डै एक वर्षदेखि चिनजान थियो, नेहा र सतिशबीच । सतिशले सञ्चालन गरेको गेम हाउसमा गइरहन्थिन् नेहा  । त्यहीबीचमा उनीहरुबीच उनीहरु नजिकको साथी बने । १९ गते पनि नेहा र सतिशसँगै थिए, नेहाले काम गर्ने स्माइल क्याफेमा ।

दुवैले मादक पदार्थ सेवन गरे । नेहाको स्कुटर त्यसअघि नै मापसे कारबाहीमा परेर प्रहरी चौकी बैदाममा रहेको प्रहरी स्रोतले बताएको छ । त्यसैले त्यो रात घर र्फकन नेहा सतिशको मोटरसाइकलमा चढिन् । तर, घरसम्म पुग्न पाइनन् । शारीरिक सम्बन्ध गर्न नमानेको झोँकमा सतिशले नेहाको ज्यान लिए ।

तीन घटनाले सिकाएको पाठ

माथिका फरक तीन घटना लगभग उस्तै प्रकृतिका छन् । पोखराकी नेहा र काठमाडौं घट्टेकुलोकी ऋतुको ज्यान गयो । वसन्तपुरमा एसिड प्रहारले संगीता मगर घाइते बनिन् । तीनवटै घटनामा युवतीहरु निसानामा परेका छन् । तर, नजिककै चिनजानकै व्यक्तिबाट ।

पछिल्लो समय चिनजान तथा साथीहरुबाटै युवतीहरु विभिन्न आक्रमणमा पर्न थालेका छन्, यो बहसको विषय पनि बनेको छ ।

केन्द्रीय अनुसन्धान विभागका पूर्वडीआईजी केशबहादुर शाहीको बुझाइमा यस्ता घटनामा सामाजिक पक्ष जोडिएका छन् । विशेषगरी युवतीप्रति एकतर्फी चाहना राख्नेका कारण वा प्रेम सम्बन्धमा आएको खटपटका कारण यस्ता घटना हुने गरेको पूर्वडीआईजी शाही बताउँछन् ।

उनी भन्छन्, ‘कतिपय युवतीले आफ्नो पे्रम सम्बन्धबारे परिवारले थाहा पाएपछि केटालाई छाडिदिन्छन्। त्यसैलाई केटाहरुले ‘इगो’को रुपमा लिने गर्छन् र युवतीमाथि आक्रमणसम्म गर्ने गरेका छन् । अधिकांश घटना आवेशमा हुने गरेका छन् । यसमा अविभावक पनि सचेत हुनुपर्छ । यसमा प्रहरीले पनि जनचेतनामूलक गतिविधिमा जोड दिनुपर्छ ।’

युवती आक्रमणका सबै घटना महिला हिंसा मात्रै नभएर, सामाजिक अपराध पनि भए पनि सुरक्षा सतर्कताबारे जनचेता कमी भएको पूर्वडीआईजी शाहीको बुझाइ छ ।

from onlinekhabar.com

Write a Comment

Events
Random Picks