चक्काजामको विरोध गर्ने यातायात व्यवसायीले आफैँ गरे ‘चक्काजाम’
17-February-2016

रेम बिक 

पोखरा, ५ फागुन | ‘कहिँ नभएको जात्रा हाँडीगाऊँमा’ भनेजस्तै भएको छ अहिले पोखरामा । आफैले मात्र व्यवसाय गर्न पाउने माग राख्दै यहाँको पोखरा नगर बस व्यवसायी समिति आन्दोलनमा उत्रिएको छ । पोखरामा नयाँ नगर बस समितिमार्फत गाडी संचालनमा आउन लागेपछि पुरानो नगर बस व्यवसायी समितिले लाज पचाएर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । जुन कुरालाई यहाँका जनताले फिटिक्कै रुचाएका छैनन् ।

सरकारबाट ईजाजत प्राप्त नयाँ समितिले सडकमा गाडी ल्याएको भन्दै पोखरा नगर बस व्यवसायी समितिले मंगलबार दिनभरी आफ्ना गाडीहरु नचलाई राख्यो । जसले गर्दा सर्वसाधारणहरुलाई आवतजावत गर्न मर्का प¥यो । त्यतिले मात्रै नपुगेर पोखरा नगर बस व्यवसायी समितिले बुधबारबाट त अझै गण्डकी अञ्चलभरी आम चक्काजामको आन्दोलन घोषणा गरेको छ । विज्ञप्तीमार्फत आन्दोलन ‘अनिश्चितकालका लागि’ हुन लागेको जानकारी पुरानो बस व्यवसायी समितिले जनाएको छ ।

नयाँ समिति अन्तरगत सडकमा आएका गाडीहरुको रुट ईजाजत खारेज नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले अडान लिएका छन् । ‘खुला बजारनीतिको नाममा व्यवस्थित व्यवसायमा भाँजो हाल्ने काम भएको छ । र, यसमा राज्यको गैरजिम्मेबारीपना देखिन्छ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अञ्चल समितिका सहसँयोजक योगेन्द्र केसीले भने–‘कुनै भिजन बिना आएका गाडीहरुले गर्दा हाम्रो व्यवसाय धरापमा परेको छ । त्यसैले आन्दोलन गर्नुपरेको हो ।’

सर्वसाधारणको मर्कालाई नजरअन्दाज

चक्काजाम र बन्दको विरोधमा सँधै अगाडि देखिने यातायात व्यवसायी नै हुन्छन् । तर अहिले उनीहरुले पनि आफ्नो माग पुरा गराउन आफैँले चलाउँदै आएको सवारी साधनहरु नचलाई बसेका छन् । र, अरुलाई पनि चलाउन नदिने बताएका छन् । यसो गरिरहँदा सर्वसाधारण यात्रु निकै मारमा परेका छन् । उनीहरु भन्न थालेका छन्–‘के सार्वजनिक सवारी चलाउनेहरुको मात्रै सडक हो यो ?’

यो विषयमा यातायात व्यवसायी महासंघका अञ्चल संयोजक केसी भन्छन्–‘सबैलाई आफ्नै समस्या ठुलो लाग्छ । अहिले हामी आफैँ समस्यामा छौँ । अरुको समस्यालाई हामीले नजरअन्दाज गरेर के भो त ?’ समस्या परेको खण्डमा ‘आफ्नै बुवाले छोरालाई हुत्यार आफ्नो ज्यान बचाएजस्तै’ व्यवसायीले पनि आफ्नो व्यवसाय जोगाउन यसो गरेको उनले बताए ।

‘नयाँ समितिका तीन वटा गाडीले जति सक्छन् त्यति सुविधा सर्वसाधारणलाई दिन्छन् ।’ केसीले भने–‘कसो गर्दा रै’छन् हेरौँ न हामी पनि ?’

नयाँ समितिको पुरानो गाडी भएको आरोप

पोखरा नगर बस व्यवसायी समितिसँगै यातायात व्यवसायी महासंघले समेत विन्दबासिनी यातायात बस व्यवसायी समितिले पुरानो मोडलको गाडी संचालनमा ल्याएको आरोप लगाएको छ । ‘स्कुलको नाममा पास भएको गाडीलाई निलो रंग लगाएर सडकमा ल्याएका छन् ।’ केसीले आरोप लगाए–‘यो सरासर गलत कुरा हो ।’ उनले विन्दबासिनी यातायात बस व्यवसायी समितिले सडकमा ल्याएको गाडी १२ मोडलको भएको समेत बताए ।

के भन्छ त विन्दबासिनी यातायात व्यवसायी समिति यो विषयमा ?

विन्दबासिनी यातायात बस व्यवसायी समितिले भने पुरानो समितिले लगाएको यो आरोपलाई ठाडै अस्विकार गरेको छ । उसले कम्पनीबाट रेडिमेड गाडी ल्याएर चलाएको दाबी गरेको छ ।

‘हामीले यूरो ३ मापदण्डका गाडी सिधै कम्पनीबाट ल्याएका हौँ ।’ विन्दबासिनी यातायात बस व्यवसायी समितिका सचिव रामचन्द्र अधिकारीले भने–‘आएर चेकजाँच गर्न सक्नुहुन्छ ।’ उनले पुरानो समितिले ‘आफ्नो आङको भैँसी नदेख्ने तर अर्काको आङको जुम्रा पनि देख्ने’ भने जस्तै व्यवहार देखाएको समेत बताए ।

उनले भने–‘बरु पुरानो समिति अन्तरगत २० वर्ष पुरानो १९ सिटे गाडी अझै संचालन भैरहेका छन् । जुन कानुनी रुपमा चलाउन पाईदैन ।’ हामीले मापदण्डअनुसारको ३२ सिटे गाडी सडकमा ल्याएका छौँ । अहिले सडकमा ल्याएका गाडीहरु पहिलो चरणमा खासै सुविधासम्पन्न नल्याए पनि अब आउने गाडीहरु पुर्णत वातानुकुलित र व्यवस्थित हुने उनले दाबी गरे ।

अबको केहि दिनमै विन्दबासिनी यातायात बस व्यवसायी समिति अन्तरत अरु ४ वटा गाडी संचालनमा आउने उनले जानकारी दिए ।

यातायात व्यवसायीको चक्काजामको विरोध

नयाँ यातायात व्यवसायी समिति मार्फत गाडीहरु संचालनमा आएको भन्दै पुराना यातायात व्यवसायीहरुले चक्काजामको घोषणा गरेपछि यसको सर्वत्र विरोध भएको छ । सर्वसाधारणहरुले यसलाई ‘सिन्डिकेटको पराकाष्ठा’ भनेका छन् । यसैगरि पश्चिमाञ्चल होटल संघ पोखराले पनि चक्काजामको विरोध गरेको छ ।

संघका अध्यक्ष भरतराज पराजुलीले प्रेश विज्ञप्ती जारी गर्दै छलफल गरेर मिलाउनुपर्ने कुरालाई लिएर चक्काजाम गर्नु अनुचित भनेका छन् । ‘श्रृंखलाबद्ध विरोध र चक्का जामका कार्यक्रम अगाडि बढाउँदा पोखराको यातायात, व्यवसाय र जनवीवन प्रभावित हुन पुगेको छ । नयाँ र पुराना वस व्यवसायी समिति विचको द्वन्द्वसँगै उत्पन्न यस्तो परिस्थितिले आन्तरिक तथा बाह्य पर्यटक तथा सर्वसाधरण समेत सहज यात्रा गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।’ विज्ञप्तीमा भनिएको छ–‘यसप्रकारको अवरोधलाई निकास दिन यथासक्य छिटो कदम चाल्न सरकार र सम्बन्धित पक्षसँग हामी जोडदार माग गर्दछौँ ।’

निकाश निकाल्न सर्वदलिय वैठक आह्वान

यातायात व्यवसायीहरुबीच देखिएको द्वन्दलाई समाधान गर्ने उद्देश्य सहित जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वदलिय बैठक आह्वान गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले वैठक आह्वान गरेका हुन् ।

पटक पटक व्यवसायीहरु बीच नै छलफल गरेर यो समस्या टुंगाउन प्रयास गरेपनि समस्या बल्झिँदै गएपछि उनले सर्वदलिय वैठक आह्वान गरेका हुन् । बुधबार सर्वदलिय वैठक बस्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । 

from mainkhabar.com

Write a Comment