नियतिको खेलः जन्ती हिँडेका मलामी भएर फर्किए
18-February-2016

बुटवल:नियतिको पनि कस्तो इच्छा ! रुपन्देहीको देवदह गाविस–५ का सञ्जय चौधरीका जन्ती उमाशंकर चौधरी अचानक मलामी बने । 
 

देवदहकै चिरन्जिवी श्रेष्ठ पनि मलामी बन्न बाध्य भए । विवाहोत्सवमा बुटवलबाट पश्चिमतर्फ एउटै दिशामा हिँडेका दुईटा गाडी एकआपसमा ठोक्किएपछि जन्ती मलामी बनेका हुन् ।   


बुधवार राती ९ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१४ ढवाहामा उक्त दुर्घटना भएको हो । देवदहबाट बर्दियाकालागि हिँडेको लु १ ख ४१९५ नम्वरको चौधरीका जन्ती सवार बस राजमार्गमा केहीबेरका लागि रोकिएको थियो । 
 

नवलपरासीबाट दाङका लागि हिँडेको जन्ती सवार बा१३च ३०६३ नम्वरको स्कर्पियो अचानक उक्त बस पछाडि ठोक्किएपछि विवाहोत्सव यात्रा निमेषमै शवयात्रामा परिणत भयोे । स्कर्पियोको धक्काले बस सडकदेखि १० मिटर तल खसेको थियो । 


बुटवलस्थित पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको अभिलेख अनुसार उक्त दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भयो । २५ जना घाइते भए् । 


मृतक नवलपरासी रतनपुरका २२ वर्षीया दुर्गा सारु, २३ वर्षीय दिनेश सिंजाली र दाङ लालमटिया निवासी स्कर्पियो चालककी छोरी ५ वर्षीया पवित्रा घर्ती हुन् ।


मृतक स्कर्पियोमा यात्रारत थिए । यसमा जम्मा ६ जना सवारी थिए । अन्य यात्रु घाइते छन् । बसका जन्ती पनि धेरैजसो घाइते भएका छन् । उनीहरुको बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


बसमा ठोकिएको स्कर्पियो पूर्णरुपमा क्षतिग्रस्त छ । बसमा भने सामान्य क्षति पुगेको छ । स्कर्पियोका सवारी मदिरा र गीत संगीतको मनोरञ्जनमा मस्त भएका बेला रातको समयमा अगाडिको सडकको अवस्था चालकले देख्न नसक्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनाको अर्को कारण तीव्र गति पनि हो । 


पश्चिम क्षेत्रीय ट्राफिक प्रहरीका अनुसार बुधवार दिउँसो नवलपरासीको सुनवल ४ मा लु१ख ३०२४ नम्वरको तीव्र गतिको माइक्रोबस अनियन्त्रित भई सडकबाट खसेपछि ६ जना यात्रु घाइते भएका थिए । 

त्यस्तै बर्दघाटमा बस, ट्रक, कार र मोटरसाइकल एकैपटक एकआपसमा ठोक्किएका थिए । तथापि मानवीय क्षती भने भएन । 

- See more at: http://www.annapurnapost.com/News.aspx/story/27133#sthash.rLiN8Gz8.dpuf

Write a Comment

Events
Random Picks