स्वास्थ्य र प्रविधि सम्बन्धित कार्यक्रम गर्दै जेसीज वीकइण्ड सकियो
23-May-2015

युवाहरुको सामाजिक संस्था पोखरा जेसीजले वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरेको जेसीज वीकइण्ड २०१५ स्वास्थ्य र प्रविधि सम्बन्धित विभिन्न कार्यक्रम गर्दै शनिबार सकिएको छ । मुलुक विनाशकारी भुकम्पले प्रभावित बनिरहँदा पूर्व निर्धारित कार्यक्रमलाई हेरफेर गर्दै यस बीचमा राहत वितरण तथा विद्यालय निर्माणमा सक्रिय सहभागिता समेत जनाएको मूल संयोजक किरण केसीले जानकारी दिए ।

पोखरा जेसीले गोर्खाको बुङ्कोट गाविस वडा नं. ३ मास्किछाप पुगेर स्थानीय पीडितहरुलाई राहत वितरण गरेको थियो भने कास्कीको भलाम ३ स्थित जनचेतना प्राविमा विपद् ब्यवस्थापनका लागि युवा समूहसंगको सहकार्यमा विद्यालय जिर्णोद्घार कार्य समेत सम्पन्न गरेको थियो ।

जसीज विकइण्डको समापन समारोहका प्रमुख आमन्त्रित व्यक्तित्व पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. कालु शर्मा सुवेदीले भुकम्पबाट नडराउन आग्रह गर्दै सचेत भने हुन जरुरी रहेको बताए । उनले विभिन्न क्षेत्रका युवाहरु संगठित भएर उदाहरणीय कार्य गरेको भन्दै पोखरा जेसीजको प्रशंसा समेत गरे ।

नेपाल जेसीका पूर्व कार्यकारिणी उपाध्यक्ष संगीता पौडेलले बिषम् परिस्थितिका बाबजुद नियमित कार्यहरु गर्दै समाजमा उदाहरणीय प्रस्तुतिका लागि पोखरा जेसीज सधैं तत्पर रहेको बताईन् । अध्यात्मिक तथा मनोपरामर्श केन्द्रका काव्य लम्सालले सकारात्मक सोच लिनुपर्ने र युवा शक्ति समाज निर्माणका लागि लाग्नुपर्ने आवश्यकता औंल्याए । पोखरा जेसीजका पूर्व अध्यक्षका तर्फबाट बोल्दै सन्तोष पोखरेलले नेतालाई मात्र गाली गर्ने समय नभएको भन्दै हामीले नै चयन गरेर पठाएका भएकाले विचार गर्नुपर्ने बेला आएको बताए । उनले अब भुकम्पपछि मुलुकलाई हाईटी बनाउने कि गुजराज बनाउने युवाहरुले सोच्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा लेखनाज जेसीजका अध्यक्ष विनोद लामिछाने, काठमाण्डौं लेडी जेसीजकी पूर्व अध्यक्ष सपना तुलाधर, पोखरा लेडी जेसीजकी सचिव सन्तु पौडेल लगायतले बोलेका थिए । मूल संयोजक किरण केसीले मुलुकको अवस्था नै दुःखदायी अवस्थामा रहेका बेला नियमित कार्यक्रम हुन नसकेपनि सोचेनुरुप सफल भएकाले सहयोगी सबैलाई आभार व्यक्त गरे ।

अन्तिम दिन शनिबार स्थानीय निकायमा रहेका विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुबीच कार्यशाला गोष्ठी सम्पन्न भयो । यस्तै, शनिबार नै उद्यमी व्यवसायीलाई श्रोत व्यक्ति माइक्रोसफ्ट रिजनल डाईरेक्टर, एलेन वायोचन तुलाधरले सहजीकरण गरेको संयोजक दीपेन्द्र पहारीले जानकारी दिए ।

वैशाख ११ देखि १३ गतेसम्म तय भएको जेसीज विकइण्ड विनाशकारी भुकम्पका कारण दोस्रो दिनमै स्थगित भएको थियो । यसअघि, वैशाख ११ गते कास्कीको धिताल गाविसमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भईसकेको छ । भेडाबारी स्थित रेक्रस भवनमा फिस्टेल हस्पिटल गैह्रापाटनको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरबाट चार सय ५० जना लाभान्वित भएको पोखरा जेसीजका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।

लगातारको परकम्पले भुकम्पको त्रास अझै नहटेको र यसबाट विद्यार्थी तथा बालबालिकाहरु बढि प्रभावित भएकाले शुक्रबारभुकम्पले पारेको असरबारे आध्यात्मिक तथा मानसिक परामर्श कार्यक्रम सञ्चालन गरिएको संयोजक देवराज शर्माले जानकारी दिए । यस्तै, शुक्रबार नै शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग विषयक कार्यशाला गोष्ठी एवं अन्र्तक्रिया कार्यक्रम भयो ।

Source : Mainkhabar.com 

Write a Comment