भूकम्प पछी पालो हावाहुरी र असिना पानीको ...
23-May-2015

शनिवार अकस्मात आएको ठुलो हुरी र झरीसँगै परेको असिनाका कारण सर्वसाधारणहरु आतंकित बने । भूकम्पको महासंहारबाट तंग्रिन नपाउँदै काठमाण्डौमा चलेको ठुलो हुरीका कारण मानिसहरु थप डर महशुस गरे ।

काठमाण्डौमा हुरीकै कारण रुखको हाँगा भाचिदा स्वयंभूमा एक महिलाको ज्यानै गयो भने खुल्लामञ्चमा टाँगिएका त्रिपाल आँधीले उडाएपछि भूकम्प पीडतको भागाभाग भयो । आँधी हुरीले मोटरसाइकल ढाल्न लागेपछि रोक्न खोज्दा अचानक रुख ढलेर किच्दा ३२ वर्षीया लक्ष्मीकुमारी सुवेदी दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आँधीका कारण अन्तराष्ट्रिय विमानस्थलसमेत एक घण्टा अबरुद्ध भयो । भूकम्प पीडितको उद्धारमा परिचालित २ वटा हेलिकोप्टर काठमाडौंमा अवतरण हुन नसकेपछि रामेछापमा अवतरण गरियो।

कास्की र तनहुँमा पनि हावाहुरी र असिनाको प्रभाव

 

शनिबार दिउँसो हावाहुरीसँगै आएको असिनापानीले कास्की र तनहुँका केही घरको छानो उडाएको छ । कास्कीमा हंसपुर तथा लेखनाथ क्षेत्रमा हावाहुरीले बढी क्षति पुर्याएको छ भने तनहुँको व्यास नगरपालिका, क्यामिन, केशवटार, जामुने तथा आसपासका गाविसमा धेरै घरको छानो उडाएको छ ।

दिउँसो करिब ३ बजेतिर आएको हावाहुरीले हंसपुर ६ बस्ने देवबहादुर गुरुङ्ग, बोधबहादुर थापा र लेखनाथ नगरपालिका १० की इन्दिरा शर्माको घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । यसबाहेक अन्य ठाउँको क्षतिको विवरण नआएको र कास्कीमा मानविय क्षति नभएको प्रहरीले बताएको छ ।

हावाहुरीले तनहुँको दमौलीमा रहेको कभर्डहलको आधा भन्दा बढी भागको छानो उडाएको छ भने बीपी वनवाटिका मैदान, शिक्षा कार्यालय र जिल्ला कारागारको छानो पुगेको छ । हुरीले व्यास–१ चारकुने टोलमा करिब १५ घरको टिनको छानो उडाएको छ ।

रामकृष्ण सापकोटा, सीता बस्नेत, चिजा न्यौपाने लगायतको घरको छानो उडाएको स्थानीय मणिजंग बस्नेतले जानकारी दिए । भूकम्पले बस्न नहुने घरको छानोसमेत उडाएपछि थप समस्या भएको छ ।

केशवटार–७ आँपटोलमा हुरीले नरबहादुर थापा पाटाको घरका सबै जस्तापाता उडाएको छ । हुरीले छानो उडाएपछि अन्न सबै भिजेर नष्ट भएको पीडित परिवारले बताएका छन् ।

केशवटार बजारमा हुरीले ठूलो स्वामीको रुख ढलेर दमौली सुखौरा मोटरमार्ग अवरुद्ध बनाएको छ । यसैगरी स्थानीय यामबहादुर थापाको घरको पनि जस्ता उडाएर क्षति र्पुयाएको छ ।

केशवटार–२ स्थित अमरज्योती निमाविको आठकोठे भवनको सबै जस्ता हुरीले उडाएपछि कम्प्युटर ल्याब, पुस्तकालय, कार्यालय कक्ष र सबै कक्षाकोठामा क्षति पुगेको जिल्ला शिक्षा कार्यालयका श्रोतव्यक्ति दुर्गा आलेले जानकारी दिए ।

हावाहुरीले जामुनेको मानुङमा पनि करिब १० घरको छानो उडाएको छ ।

 

Related Images

Write a Comment

Events
Random Picks