विमान दुर्घटनामा ज्यान गएका मध्ये ७ जानाको शव पोखरा ल्याइयो
25-February-2016

म्याग्दी, फागुन १३ / उत्तरी म्याग्दी दाना गाविसको सोलीघोप्टे भीरमा भएको विमान दुर्घटनामा ज्यान गएकाको शव पोखरा ल्याउने तयारी भइरहेको छ । अहिलेसम्म ७ वटा शव पोखरा ल्याइपुर्‍याइएको छ । ७ वटा शवमा क्याप्टेन रोशन मानन्धरको शव मात्र पहिचान भएको छ ।  

पहिचान भएका शवहरु पोखराबाटै आफन्तको जिम्मा लगाइने र पहिचान नखुलेका शव डिएनए परिक्षणका लागि काठमाडौं ल्याइने बताइएको छ । पहिचान खुलेका मध्ये तीनवटा शव दानाबाटै आफन्तको जिम्मा लगाइएको छ । विनिता भट्टचन, साढे दुई महिनाको बच्चा र कृष्णलाल भट्टचनको शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलनजिक एकसय मिटरको दुरीमा राखिएको हेलिकप्टरसम्म यात्रुको शव ओसारेर त्यहाँबाट पुनः हेलिकप्टरमार्फत पोखरा पठाइने तयारी भइरहेको छ ।

विमान दुर्घटनामा परेका यात्रुको शव जलेको र डढेको अवस्थामा भेटिएको हुँदा अधिकांश शव चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका यात्रुहरुको शव बुधबारै ल्याउने भनिए पनि खराब मौसमका कारण उद्दारकार्यले सार्थकता पाउन सकेको थिएन । बुधबार दिनभर जसो बाक्लो हुस्सु र कुहिरो लागेका कारण हेलिकप्टर जान नसकेको र ल्याण्ड गर्ने ठाउँ नहुँदा शव उठाउन नसकिएको हो । 

Write a Comment

Events
Random Picks