लडेर निधारमा सामान्य चोट लागेकै कारण क्यान्सर, बालकको उपचारमा समस्या
10-March-2016

पर्वतको तिलाहार २ गिज्यानका एक ७ बर्षे बालकलाई क्यान्सर भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । ५ बर्ष अघि खेल्ने क्रममा लडेर निधारमा सामान्य चोट लागेकै कारण अहिले उनी क्यानसरबाट पिडित बनेका हुन् ।

घाउको उपचार गर्दा गर्दै पनि करिव १ बर्षपछि उनलाई विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले क्यान्सर भएको बताएको हो । पारिवारिक आर्थिक स्रोत केही नभएका परिवारको अहिले ऋणधन गरेरै जुटाएको करिव ९ लाख रुपैँया खर्च भइसकेको छ । ७ बर्षे बालक सचिन मल्लको अवस्था भने अझै सुधार आएको छैन ।

गाउँमा नै किराना पसल व्यवसाय सञ्चालन गरेर जिविकोपार्जन गर्दै आएका सचिनका बाबु चक्रबहादुर मल्ल अहिले छोराको उपचारका लागि सहयोग जुटाउन गाउँ देखि शहरसम्म र विदेशमा भएका आफन्तलाई गुहार्न थालेका छन् । ‘आफु सँगै भएको जायजेथा सवै छोराकै उपचारमा सकियो, अव मेरो उपाय केही छैन’ बाबु चक्रबहादुर मल्लले भने ‘कहिँ कतैबाट सहयोग जुटाउन पाए छोराको ज्यान बच्थ्यो कि ?’ आफुपनि निमोनियाबाट पिडित बनेका मल्लले भावुक हुँदै भने ।

उपचारका क्रममा सचिनको तेश्रो पटक सम्म अप्रेशन भइसकेको छ । अप्रेसनकै कारण पहिलाको अवस्था भन्दा अहिले सुधारोन्मुख रहेको छ । क्यान्सर अस्पतालमा कार्यरत विशेषज्ञ कृष्णसागर शर्मा लगायतका उपचारमा संलग्न चिकित्सकहरुले ३ बर्ष सम्म प्रत्येक महिनाको एक पटक अस्पतालमा ल्याउनुपर्ने सल्लाह दिएको उनले बताए । महिनाको एक पटक जाँदा पनि झण्डै १० देखि १५ हजार सम्म खर्च हुने भएकाले आफुले सहयोगको आग्रह गरेको उनले बताए । ‘चिकित्सकले भनेको समयमा लगेर उपचार गर्न सक्ने हो भने रोग निको हुने आश्वासन दिएका छन्’ उनले भने ।

उपचारका क्रममा देश विदेशमा भएका दाजुभाईहरुको राम्रै सहयोग पाएको बताउँदै आगमी दिनमा समेत सहयोगदाताहरुबाट सहयोग पाए छोरा सचिनको जीवन बचाउन सक्ने उनले बताए । मल्लका दुई छोरा र १ छोरी मध्ये कान्छो छोरा सचिनमा क्यान्सर देखिएको हो । अहिले सचिन गाउँकै विद्यालयमा कक्षा १ मा पढ्दै छन् । उपचारकै कारणले पठनपाठनमा समेत नियमितता दिन नसकिएको सचिनकी आमा ज्ञानु मल्लले बताइन् ।