भोलि देखि पोखरामा सार्क मन्त्रीस्तरीय बैठक, सुरक्षा व्यवस्था कडा
13-March-2016

पोखरा । पर्यटकीय नगरी पोखरामा  सोमबारदेखि सुरु हुने सार्क मन्त्री स्तरीय बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । विरौटास्थित पाँचतारे होटल पोखरा ग्राण्डमा चैत ४ गतेसम्म बैठक हुनेछ ।

नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र अफ्गानिस्तानका मन्त्रीहरु सहभागि हुनेछन् । सहसचिवस्तरीय बैठक सोमबारदेखि शुरु हुने भएपनि मन्त्री स्तरीय बैठक अन्तिम दिन हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक व्यवस्थापन समितिका संयोजक समेत रहेका पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले बताए । उनका अनुसार बैठकको तयारी स्वरुप पोखराका सडकमा भएका खाल्डाखुल्डी टालटुल तथा मर्मत समेत गरिएको छ । त्यस्तै, सडक सरसफाई पनि गरिएको छ भने सडकका दायाँबायाँ वृक्षारोपण गरिएको छ ।

यसैगरी, पोखरा प्रवेश गर्ने विन्दु, मुख्य चोकसहित बैठक स्थलमा स्वागत द्वार निर्माण लगायतका काम गरिएको छ ।

सुरक्षा व्यवस्था कडा

पोखरामा पहिलोपटक हुन लागेको सो बैठकका लागि भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ । अपि्रय घटना नहोस् भनेर सुरक्षा व्यवस्था चुस्त पारिएको र राती १० पछि कुनैपनि होटल, रेष्टुरेण्ट, डिस्को तथा बारहरुलाई सञ्चालनमा रोक लगाइएको छ ।

बैठकमा सहभागि सार्क राष्ट्रका प्रतिनिधिहरु घुम्न चाहेको खण्डमा पोखरा र आसपासका क्षेत्रमा घुमाउनका लागि पनि आवश्यक प्रवन्ध मिलाइएको प्रशासक कोइरालाले जानकारी दिए ।

सार्क बैठकको तयारी स्वरुप आइतबार पोखरामा सवारी पूर्व अभ्यास गराइएको थियो । पोखरा विमानस्थलदेखि बैठक स्थल होटल पोखरा ग्राण्डसम्म सवारी पूर्वअभ्यास गरिएको हो ।

अतिथि आउने क्रम जारी

सार्क मन्त्रीस्तरीय बैठकमा सहभागि हुन अतिथिहरुको पोखरा आगमन शुरु भएको छ । अहिलेसम्म पाकिस्तान, श्रीलंका लगायतका देशका सहसचिवसहितको टोली पोखरा आइसकेको छ ।

त्यस्तै अन्य सहसचिव स्तरका अतिथिहरु आइतबार बेलुकासम्ममा पोखरा आइसक्ने छन् । सचिव स्तरका अतिथिहरु सोमबार, मन्त्री स्तरका अतिथिहरु मंगलबार र बुधबार विहानसम्ममा पोखरा आइपुग्ने बताइएको छ ।

 

Write a Comment

Events
Random Picks