इँटा बोक्दाबोक्दै एककाएक करोडपति !
23-March-2016

काठमाण्डु, ११ चैत– घरखर्चमा परिवारलाई ऋण लागेपछि ‘धन कमाउन पर्देसिएका दोलखाका कुलप्रसाद शिवाकोटी (कृष्ण) ले गाउँ आएर भूकम्पपीडितलाई २१ लाख रुपैयाँ सहयोग गरे । उनी खर्च अभावमा एसएलसीभन्दा माथि पढ्न नसक्ने भएपछि १० वर्षअघि घरबाट रोजगारीको खोजी गर्दै बाहिरिएका थिए ।

२८ वर्षीय शिवाकोटीले भूकम्पले क्षति पुर्याएको वर्ष बित्न लाग्दा पनि सरकारले घर बनाउन सहयोग गर्न नसकिरहेको अवस्थामा आफ्ना गाउँलेलाई आर्थिक सहयोग गरेका हुन् । भूकम्पपीडितलाई राहत बाँडिरहँदा उनको विगत सम्झेर कतिपयका आँखा रसाएका थिए ।

 रोजीरोटीको खोजीका क्रममा भारतको सिक्किम पुगेका बेला उनको मेहनत देखेर स्विस नागरिक बर्न, विश्वविद्यालयका प्रा. डा जर्ज भान ड्रिम प्रभावित भएका रहेछन् । ड्रिमले रेस्टुराँ सञ्चालन गर्न लागेको भन्दै आफूलाई पोखरा ल्याएको उनले सुनाए ।

उनले सिक्किममा इँट्टा बोक्नुका साथै गाडीमा सहचालकको कामसमेत गरेका थिए । १ वर्षको बसाइमा ऋण तिरे पनि घरमा जस्ताको छानो हाल्ने रहरले थप पैसा कमाउन दसैमा नेपाल समेत नआएको उनले बताए । ‘त्यही क्रममा ड्रिमसँग भेट भयो’ उनले भने ।

ड्रिमको रेष्टुराँमा किचेन हेल्परको रुपमा काम थालेका उनी म्यानेजर पदमै पुगे । उनी अहिले त त्यही रेस्टुराँकै सञ्चालक बनेका छन् । ड्रिम जुन देश जान्छन् उनी सहयोगीका रुपमा साथै हुन्छन् । २७ देशको भ्रमण गरिसकेका उनले २१ करोड पुँजी जम्मा गरिसकेका छन् ।

विगतमा गरिबीकै कारण राम्रो घर बनाउन तथा पढ्न पनि नसकेको पीडा भोगेको हुँदा अहिले त्यस्ता व्यक्तिलाई सहयोग गर्न गाउँ आएको उनले सुनाए । वैशाख २९ गतेको भूकम्पको केन्द्रबिन्दु परेको सुनखानीका ३८ र छिमेकी सुन्द्रावतीका १७ गरी ५५ परिवारलाई निजी आवास निर्माणका लागि १० लाख रुपैयाँ वितरण गरेका थिए ।

उनले सुनखानीका ९ विद्यालय र सुन्द्रावतीका १ गरी १० विद्यालयका ११५ विद्यार्थीलाई १ हजारका दरले राहत बाँडे ।

२०६२ सालमा एसएलसी पास गरेपछि बाबुलाई लागेको एक लाख ऋण तिर्न घर छाडेको उनले सुनाए । घर छाडेपछि उनले माइक्रोबसमा सहचालक, होटलमा किचन हेल्परको काम गरेर केही समय काठमाण्डुमा बिताएका थिए । काठमाण्डुमा पाएको कामले ऋण तिर्न नसक्ने देखेपछि सिक्किम गए ।
कारोबार दैनिकबाट

Write a Comment

Events
Random Picks