पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास (फोटो फिचर )
13-April-2016

हिमनिधि लौडारी,अर्जुन पोख्रेल, पोखरा, वैशाख १ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएको छ । कास्कीको पोखरामा निर्माण हुने यो विमानस्थलको प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य राजनीतिक दलका नेताहरुले बुधबार एक साथ शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीसहित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उप्रप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा, उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालालगायतले विमानस्थलको शिलान्यास गर्नुभएको हो ।  शिलान्यास गर्दै ओलीले पहिलो इँटा राख्नु भयो भने त्यसपछि अरु नेताहरुले हामी पनि इँटा थप्न आएको हो भन्दै एक एक वटा इँटा थपेका थिए । 

शिलान्यास गर्दै नेताहरुले यो विमानस्थल निर्माणमा सबै राजनीतिक दलको सहमति भएकाले तोकिएको समय सन् २०२० मै निर्माण पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । 

शिलान्यास समारोह भब्य

शिलान्यास कार्यक्रमलाई भव्य बनाउन पोखराका विभिन्न क्षेत्रमा स्वागतद्वार बनाइएको छ । शिलान्यास अघि पोखराका विभिन्न चार स्थानबाट बाजागाजासहितको भव्य र्‍याली निस्किएको थियो ।  

लेखनाथ नगरपालिका र कास्कीको पूर्वी भेगबाट सहभागीहरु चाउथेमा जम्मा भएर निर्माणस्थल आइ पुगेका थिए । विमानस्थल बन्ने क्षेत्र पोखरा १४, १५ र १८ का बासिन्दा विमानस्थलको दक्षिणतर्फको गेटबाट र्‍यालीसहित प्रवेश गरेभने पर्यटन व्यवसायी, लेकसाइडका आमा समूह, युवा क्लब लगायतको र्‍याली रंगशालाबाट सुरु भई निर्माणस्थल पुगेको थियो । पोखरा उद्योग बाणिज्य संघको नेतृत्वमा अमरसिंहचोकबाट निकस्ने र्‍यालीमा पोखराका उद्योगी व्यवसायी, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सरकारी गैरसरकारी कार्यालयका कर्मचारी सहभागी भए ।

पोखरेली हर्षित

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल शिलन्यास हुने भएपछि यस क्षेत्रका नागरिक उत्साहीत बनेका छन् । ४० वर्ष अघिदेखिको सपना साकार हुन लागेको भन्दै पोखरेली हर्षित भएका हुन् । उनीहरुले शिलान्याससँगै निर्माण कार्य पनि सुरु गर्न आग्रह गरेका छन् । पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।  त्यसमा जग्गा अपुग हुनेभएपछि अहिले थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप जग्गाको मुआब्जा वितरण पनि ९० प्रतिशत भन्दा बढी सकिएको विमानस्थल आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कोसेली 

प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना अघि गरेको चीन भ्रमणको उपलब्धी यो विमानस्थललाई मान्न सकिन्छ । भ्रमणका क्रममा चैत ८ गते अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीबिच विमानस्थल सम्बन्धी ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यो हस्ताक्षर भएको एक महिना पनि ननाघ्दै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरिएको हो । यो विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सिएएमसी इञ्जिनियरिङले पाएको छ । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंक, २१ करोड अमेरिकी डलर सस्तो ब्याजदरमा सहुलियत ऋण दिने छ ।  

ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट ह्यांगर लगायत निर्माण हुनेछन् । पोखरामा विमानस्थल निर्माणका लागि विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने छ ।

 

Photo : www.yunishgurung.com