पहिले मोसो, अहिले फूलमाला
26-May-2015

गाउँबाट खेद्नेले नै गरे भब्य स्वागत 

दाङ : मुखभरी मोसो, जुत्ताको माला र कपाल मुण्डन गरी गाउँलेबाट लखेटिएकी सतवरिया–२ वनघुस्रीकी एक महिलाले कल्पनै नगरेको घटना आइतबार दिउँसो वनघुस्रीमै भयो।

अनैतिक सम्बन्ध र बोक्सीको आरोपमा अमानवीय व्यवहार गरी गाउँबाट लखेट्नेले नै उनलाई फूलमाला र अविर लगाइ दिएर गाउँमा भव्य स्वागत गरेका छन् ।

 

बैशाख २८ गते अर्थात १३ दिनअघि उनलाई अनैतिक सम्बन्ध र बोक्सीको आरोप लगाई मोसो दल्नुका साथै जुत्ताको माला लगाइदिएर कपाल मुण्डन गरी गाउँ निकाला गरिएको थियो । 
 

गाउँलेको अमानवीय ब्यवहारका कारण गाउँबाट विस्थापित हुन बाध्य भएकी वन घुस्रीकी ती महिला १३ दिनपछि स-सम्मान गाउँमा पुनस्थापित भएकी छन् । 

 

विस्थापित महिला समक्ष गाउँका अगुवासहित उक्त घटनामा संलग्न सबैले माफी माग्दै ती महिलाको गाउँमा स्वागत गरेका छन् । “विगतमा जे जस्तो भयो, पुरानो घटनालाई बिर्सेर नयाँ सुरुवात गर्नुपर्छ”, गाउँका अगुवा शालिकराम चौधरीले महिलाको निधारमा अविर लगाइदिँदै भने, “पहिले जेजस्तो अवस्थामा थियौं । अब फेरि त्यसैगरी गाउँमा मिलेर बस्ने छौं ।”
 

अनैतिक सम्बन्ध र बोक्सीको आरोप लगाएर कपाल मुन्डन गरी मोसो र जुत्ताको माला लगाई सामाजिक बहिस्कार गरेकाले नै ती महिलालाई फूलमाला र अबिर लगाएर घर प्रवेश गराएका हुन् ।


“समाजमा सामाजिक भएर बस्नुपर्छ । मानव भएर मानवताको अपमान गर्ने काम कसैले गर्नुहुँदैन”, सामाजिक बहिस्कार गरिएकी महिलालाई गाउँमा पुनस्र्थापित गराउन वनघुस्री पुगेका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले भने, “असामाजिक गतिविधि गर्नेलाई कानुनले छोड्दैन । यद्यपि, समाजमा दिगो शान्ति स्थापनाका लागि मेलमिलाप पनि अत्यावश्यक छ ।”

फेरि त्यस्तै घटना दोहोरिएमा मोसो लगाउन उस्काने सहित गाउँका अरु मानिसलाई पनि कानुनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले चेतावनी दिए । 


“अहिले पुनस्र्थापना गर्ने तर पछि घटना पुनः दोहोरियो भने सुरुमा उकास्नेहरुलाई समेत कारवाही हुन्छ”, प्रजिअ पौडेलले थपे, “समाजमा मिलेर बस्नका लागि मेलमिलाप भनिएको हो । फेरि त्यस्तै गतिविधि भए कारवाही हुन्छ । धरौटीमा रिहा भनेको उन्मुक्ति होइन, जतिबेला पनि हिरासतमा लिएर थुन्न सक्छौं ।”
 

प्रमुख जिल्ला अधिकारी पौडेलसहित उक्त क्षेत्रकी सभासद पार्वती डिसी चौधरी, सरोकारवाला संघसंस्था तथा कार्यालयका प्रमुख लगायत गाउँले बीचमा फूलमाला, अबिर लगाएर विस्थापित महिलालाई पुनस्थापित गराइएको हो । 

कार्यक्रममा विस्थापित महिलाले आफूमाथि भएको जस्तो अमानबीय व्यवहार समाजमा कसैले पनि भोग्नन परोस् भन्दै समाजमा मिलेर बस्ने प्रतिवद्धता जनाएकी थिइन् । उनी घटना भएको दिनदेखि घोराहीको सेवा केन्द्रमा बस्दै आएकी थिइन् ।

मोसो दल्ने घटनामा संलग्न सीताराम चौधरी, पानमति चौधरी, हिरामोति चौधरी,जानकी चौधरी, दिलकुमारी चौधरी रआशाकुमारी चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई प्रतिब्यक्ति दुई/दुई हजारका दरले जरिवाना गरिएको थियो । पक्राउ परेका महिलालाई बिहीबार धरौटीमा रिहा गरिएको थियो ।

- See more at: http://annapurnapost.com/News.aspx/story/12277#sthash.rSwt4u3J.0lBimCir.dpuf

Events
Random Picks