यि हुन् सल्यानमा ४ जनाको विभत्स हत्या गर्ने २० वर्षे संजय
28-April-2016

सल्यान, वैशाख १६

सल्यानको छायाँक्षेत्र गाविस वडा नम्बर ९ रानागाउँकी सविता खाँणको परिवारका ४ जनाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षे युवक संजय भारतीलाई पक्राउ गरेको छ। सल्यान प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर भारतीलाई सार्वजनिक गरेको हो।  भारतीले गत १४ गते राति छिमेकी सविता खाँण, उनका साढे २ वर्ष र ११ महिनाकी छोरीसँगै  सविताकी १८ वर्षकी बहिनी गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी श्याम खत्रीले जानकारी दिए। 
 
कसरी भयो घटना
घटना भएको दिन भारतीले मादक पदार्थ सेवन गरेको डिएसपी खत्रीले बताए। भारतीले छिमेकी सवितालाई आन्टी भनेर बोलाउने गर्थे। सो दिन सविताले सेल रोटी पकाएको कारण भारतीलाई खान बोलाएकी थिईन्। मादक पदार्थ सेवन गरेर गएका भारतीले अश्लिल शब्दहरु बोल्न थालेपछि उनीहरुबीच विवाद भएको थियो। त्यसपछि भारतीले ११ महिनादेखि दिदीको घरमा बस्दै आएकी सविताको बहिनी गीतामाथि बलात्कारको प्रयास गरे।  गीताले प्रतिकार गरेपछि गोठमा गाइवस्तु बाँध्ने किलो लिएर भारती आए र पालैपालो सबैलाई हाने।
 
भुन्टी नाम प्रहरीको कुकुरले पत्ता समात्यो भारतीलाई
घटना भएको स्थान एकान्त छ। धेरै घरहरु छैनन्। बिहान ८ बजे मात्र स्थानीयले सो घरमा ४ जनाको हत्या भएको थाहा पाए। त्यसपछि १० बजे प्रहरी पुग्यो। तर हत्यारा पत्ता लगाउन सकिरहेको थिएन। प्रहरीले भारतीलाई शंका गर्‍यो। तर समात्न यथेष्ट प्रमाण पुगिरहेको थिएन। उनले कपडा पनि राति धोएर सुकाएका थिए।
 
चप्पलमा पनि रगत देखिन्थ्यो। प्रहरीले उनीमाथि निगरानी गरिररहेको थियो। उक्त घटनाको थप अनुसन्धानका लागि मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट भुन्टी नामको कुकुर समेत ल्याई घटनास्थलबाट अपराधि भागेको बाटो ट्रयाक पहिचान गर्न प्रहरीलाई सजिलो भयो।
 
त्यसपछि भुन्टीले मासमा रहेका ५ सय जतिको भीडमा उभिएर घटनास्थल नियालिरहेका भारतीको हात टोक्दै प्रहरीलाई समात्न निर्देशन दियो। खाँडका श्रीमान भारतमा काम गर्छन्।
 
मदिरा र सेक्सका कारण भारतीले अावेगमा अाएर ४ जनाको हत्या गर्न पुगेको डिएसपी खत्रीले बताए।