यी हुन् ज्यानमारा बोर्डिङ स्कुलहरू ! (नामसहित)
12-May-2016

पोखरा, ३० वैशाख । निजी विद्यालयहरुले सञ्चालन गरेका विद्यार्थी बोक्ने बसहरु समेत मापदण्ड विपरित रहेको पाइएको छ ।

२०७३ बैशाख २२ गते बुधबार जिल्ला शिक्षा कार्यालय कास्कीको अगुवाइमा भएको अनुगमनमा झण्डै २ दर्जन स्कुलका बसहरु मापदण्ड विपरित रहेको पाइएको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

संस्थागत विद्यालयहरुले विद्यार्थीहरुसँग मोटो शुल्क असुल गरेर चलाइएका बसहरु समेत निर्धारित मापदण्ड अनुकूल नपाइए पछि जिल्ला शिक्षा कार्यालय कास्कीले ति विद्यालयहरुलाई ३ दिने स्पष्टीकरण सोधेको छ ।

सरकारले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार विद्यार्थी बोक्ने सवारी साधनहरुको मापदण्ड तोकेर लागु गरेको छ । निर्देशिका अनुसार बसका रंग सुन्तला रंग तोकेको छ ।

चालक सहचालकको आचार संहिता बनाइ लागु गर्नुपर्ने छ । भन्सार छुट पाएका बसहरुले बसको बढीमा भन्सार छुट प्राप्त लेखिनु पर्ने, बसभित्र सामग्रीसहितको उपचार बाकस हुनुपर्ने लगायतका प्रावधान तोकिएको छ ।

राज्यले जारी गरेका निर्देशनलाई अवज्ञा गरेर मनोमानी गर्ने संस्थागत विद्यालयहरुलाई कारबाही हुनुपर्ने विषयमा विभिन्न विद्यार्थी संघ संगठनहरुले पटक–पटक आवाज उठाउँदै आइरहँदा पनि बेथिति हट्न सकेको छैन ।

विद्यार्थीलाई गुन्दु्रक खाँधेझै गरि कोचेर शुल्क असुल्ने, प्राथमिक उपचार बक्स नराख्ने, भन्सार छुट पाएको जनाउ नलेख्ने प्रवृत्ति बढि देखिएको छ ।

पोखराका नाम चलेका विद्यालयहरुले प्रयोग गर्ने बसहरुले बढि नियम मिचेको पाईएको छ । विद्यार्थी बढी बस कम राखेर कुस्त कमाउने स्कुल सञ्चालकहरुले बालबालिकाहरुको सकस बुझ्ने नैतिक हैसियत राखेका छैनन् ।

३ दिन भित्र स्पष्टिकरण बुझाउन परिपत्र गरिएका मापदण्ड विपरित स्कुल बस सञ्चालन गर्नेहरुमा मासबारको मदरल्याण्ड उच्च मा.वि. मासबारकै स्टेप बाई बोर्डिङ स्कुल, गण्डकी बोर्डिङ स्कुल, सरस्वती बोर्डिङ स्कुल, शिशु निकेतन बोर्डिङ स्कुल बिरौटा, सगरमाथा निकेतन स्कुल, प्रतिमा उच्च मा.वि., पिसजोन एकेडेमी, पोखरा क्याम्ब्रिज बोर्डिङ स्कुल, फिस्टेल एकेडेमी, द वीज्जम बोर्डिङ, इमानुअल बोर्डिङ स्कुल, गोल्डेन फ्यूचर बोर्डिङ स्कुल, प्यारामाउण्ट बोर्डिङ स्कुल, रामघाट, बालोदय बोर्डिङ स्कुल, साइनिङ स्टार बोर्डिङ, हिलप्वाइन्ट बोर्डिङ स्कुल, लोटस इ.बोर्डिङ स्कुल, शान्तिनिकेतन बोर्डिङ स्कुल, बालप्रभात बोर्डिङ स्कुल, निलगिरी बोर्डिङ स्कुल न्यूरोड, डाइनामिक एकेडेमी सिमलचौर नेसनल इभेन्टिभ बोर्डिङ स्कुल लगायत रहेका छन् ।

नेपालकै नाम चलेको गण्डकी बोर्डिङ समेतले राज्यको निर्देशिका वमोजिमको मापदण्ड पुरा नगरेको पाइनुलाई विडम्बना पूर्ण ढंगले हेरिएको छ ।

यस्तै सगरमाथा निकेतन, मदरल्याण्ड उच्च मा.वि. शिशु निकेतन, स्टेप बाई स्टेप जस्ता महंगा र आफूलाई अब्बल दाबी गर्ने बोर्डिङ स्कुलहरु पनि स्पष्टिकरणमा परेकाछन् ।

यस्तै निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको फिस्टेल एकेडेमी समेत निर्देशिका नमाने बापत स्पष्टिकरण कारबाहीमा परेका छन् ।

नियम मान्ने र मान्न लगाउनेहरु नै नियम विपरित चल्न थालेपछि अराजकता मौलाउने संकेत मिलेको छ । ढिलै भएपनि शिक्षा कार्यालय कास्कीले अनुगमन कार्यलाई तिब्रता दिएको छ । स्पष्टिकरण सोधेको छ ।

स्पष्टिकरण पछि कारबाही कस्तो गर्छ, त्यो भने प्रतिक्षाको विषय बनेको छ । कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले १५ दिन भित्र कारबाहीको नतिजा सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दैनिक नेपालमा प्रकाशित 

Write a Comment