लमजुङ दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, सहचालकले चलाएका थिए बस
20-May-2016

लमजुङ, जेठ ७ – बिहीबार लमजुङमा भएको बस दुर्घटना परि ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । तनहुँको दमौलीबाट जिताकोटतर्फ जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस बिहीबार बेलुका मध्यनेपाल नगरपालिका–५ तामाखानीस्थित तारेभिरबाट झण्डै तीनसय मिटर तल खसेको थियो । 

ज्यान गुमाउने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पछिल्लो पटक ज्यान गुमाउनेमा मध्यनेपाल नगरपालिका–६ बस्ने १६ वर्षीय सागर थापा र दुई महिनाकी बालिका जोया खवास रहेका छन् । उनीहरुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पाल पोखरा पुर्याउनासाथ अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

अन्य नौ जनाको घटनास्थलमै ज्यान गएको थियो । घटनास्थलमै ज्यान जानेमा मध्यनेपाल नगरपालिका–१ बस्ने ६० वर्षे रामकृष्ण गुरुङ, त्यही ठाउँकी ४० वर्षे रमा गुरुङ, ८० वर्षे चिनुमाया गुरुङ, ३५ वर्षे राजु गुरुङ, १८ वर्षे सविता गुरुङ, ४५ वर्षे शेरबहादुर गुरुङ, ४२ वर्षे नारायण थापा, ३२ वर्षे गणेश गुरुङ र ४५ वर्षे मीना गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । 

दुर्घटनामा परि घाइते हुनेमा मध्यनेपाल नगरपालिका–५ का २२ वर्षे सुक्मित गुरुङ, वडा नम्बर ४ का ४० वर्षे नेत्र गुरुङ, ४८ वर्षे विष्णुमाया गुरुङ, ७० वर्षे लीलामाया खवास, ६१ वर्षे टेकबहादुर खवास, २१ वर्षे सुरेश खवास र वडा नम्बर १ की ३६ वर्षे सम्झना गुरुङ रहेको नायब उपरिक्षक गुरुङले बताउनुभयो । ती सबै घाइतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । 

उक्त दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका नौ जनाको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख डा. पवनजङ्ग रायमाझीले बताउनुभयो । मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएकाको लास उतै राखिएकाले पोखरामै शवपरीक्षण गरिने बताइएको छ । 

बस सहचालकले चलाएकाले दुर्घटना भएको र बस चालक सुरज विक भने अहिलेसम्म फरार रहेको इलाका प्रहरी कार्यालय दुईपिप्लेले जनाएको छ ।

Write a Comment

Events
Random Picks