डेढ घण्टासम्म लोडसेडिङ बढ्न सक्ने / साढे ५७ मेगावाट अवरुद्ध
28-May-2015

१४ जेठ, काठमाडौं / विनासकारी भूकम्पले जलविद्युत् क्षेत्रमा १७ अर्ब रुपैयाँ बढीको क्षति गरेकाले अब डेढ घण्टासम्म लोडसेडिङ बढ्न सक्ने विद्युत प्राधीकरणका अधिकारीले बताएका छन् । नेपाल विद्युत प्राधिकरणले सरकारी आयोजनाहरुको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीमा करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक  प्रतिवेदन उर्जा मन्त्रालय पठाएको छ ।

त्यसैगरी, निजी प्रवर्द्धकहरुद्वारा सञ्चालित आयोजनाहरुमा ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यद्यपि सरकारी निकायबाट त्यसको आधिकारिक प्रतिवेदन भने आएको छैन । सरकारी र निजी क्षेत्र दुबैतर्फका आयोजनाहरुको क्षतिबारे पूर्णप्रतिवेदन आउँदा २० अर्ब रुपैयाँसम्म पुग्न सक्ने उर्जा मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।

भूकम्पका कारण ४५ मेगावाट जडित क्षमताको भोटेकोशी, १० मेगावाट जडित क्षमताको विद्युत प्राधिकरणको सुनकोशी र २.४ मेगावाट विद्युत जडित क्षमताको सानिमा हाइड्रोको सुनकोशी आयोजना पूर्णरुपमा ठप्प भएका छन् ।

ती आयोजनाहरुको जडित क्षमता ५७.४ मेगावाट भए पनि अहिले सुख्खायाम भएकाले २० देखि २५ मेगावाट विद्युत मात्रै उत्पादन गर्दै आएका थिए । भूकम्पको त्रासका कारण विद्यालय, उद्योग, कलकारखाना तथा विभिन्न कार्यालयहरु अहिले पनि बन्द भएकाले लोडसेडिङ नबढेको हो ।

जनजीवन सामान्य बन्नेवित्तिकै एकदेखि डेढ घन्टासम्म लोडसेडिङ बढ्नसक्ने विद्युत प्राधिकरणका उच्च अधिकारीहरु बताउँछन् ।

Write a Comment

Events
Random Picks