अझै असुरक्षित भूकम्पपीडितहरू
29-May-2016

चरीकोट: भूगर्भविद्हरूले तत्कालै जिल्लाको उत्तरी चौध गाविसका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिस गरे पनि सरकारले अहिलेसम्म स्थानान्तरण गर्नसकेको छैन । पटकपटक आएको भूकम्पको परकम्पले सबैभन्दा बढी जिल्लाको उत्तरी गाविसमा क्षति पुर्‌याएको थियो । गृह मन्त्रालयले २०७२ साल पुसमा बस्तीहरूलाई सुरक्षीत स्थानमा स्थानान्तरणका लागि आवासगृह निर्माणका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति दोलखालाई निर्देशन दिइसकेको छ । तर अहिलेसम्म निर्माणकार्य हुनसकेको छैन ।

 

क्षतिका आधारमा भूगर्भविद्हरूले चौध गाविसका स्थानीयलाई एक वर्षअघि स्थानतरणका लागि सिफारिस गरे पनि हालसम्म कार्यान्वयन हुनसकेको छैन । गएको वर्ष वर्षा नभएका कारण जोखिम कम भए पनि यो वर्ष जोखिम हुने डरले स्थानीय चिन्तित भएका छन् ।

 

चख्खु निवासी श्यामसुन्दर तामाङले आफूहरू बसेको ठाउँ असुरक्षित रहेको भूगर्भविद्हरूले भने पनि सरकारले वैकल्पिक व्यवस्था गर्न नसकेको बताए । उनले आफ्नो घर भएको क्षेत्रदेखि आसपासका अधिकांश जमिन भूकम्पको बेला चिरा परेको बताए । गत वर्ष भाग्यले बाँचेको भन्दै यो वर्ष ठूलो वर्षा भएमा ठूलो मानवीय क्षति हुने तामाङको भनाइ थियो ।

 

सरकारले गएको वर्षमा स्थानान्तरण गर्ने भने पनि कहाँ र कहिले सार्ने भन्ने विषयमा टुंगो नभएको उनले बताए ।

 

यस्तै मार्बु गाविसका मिङ्मा शेर्पाले पनि पोहोरको साल गाउँ छोडेर सबैजना एकै ठाउँ बसेको जानकारी दिँदै यो वर्ष पनि आफैंले सुरक्षित स्थानको खोजी गर्नुको विकल्प नभएको बताए ।

 

जिल्ला दैवीप्रकोप उद्धार समितिको २०७२ साल जेठ ४ गते बसेको बैठकले गृह मन्त्रालयलाई पत्र लेखेर चौध गाविस तत्काल स्थानान्तरण गर्नुपर्ने र अन्य गाविस पनि अध्ययन गरी सार्नुपर्ने हुनसक्ने बेहोराको पत्र पठाएको थियो । पत्रमा लादुक, लामाबगर, गौरीशंकर, आलम्पु, चिलंखा, विगु, खारे, ओराङ, खोपाचागु, कालिञ्चोक, मार्बु, सुरी, चंखु र बुलुङ जोखिमपूर्ण रहेको उल्लेख छ । यस्तै झुले, लामिडाँडा, भीरकोट र झ्याँकुसहित अधिकांश गाविसका वडा स्थानान्तरण गर्नुपर्ने जानकारी बैठकले दिएको थियो ।

 

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयबाट पत्र प्राप्त भइसकेको जानकारी दिँदै त्यसका लागि ६ वटा गाविसमा सामूहिक आवासगृह निर्माणको जिम्मा भवन विभाग लाई दिइसकेको बताए ।

 

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दोलखाका प्रमुख एकराज अधिकारीले भने आवास निर्माणको काम सुरु गर्न लागिएको बताएका छन् । अधिकारीले जिल्ला दैवी प्रकोप उद्धार समितिले सिफारिस गरेका गाविसहरूमा पर्याप्त मात्रामा जग्गा नभएको कारण पनि समस्या आएको बताए ।

Write a Comment

Events
Random Picks