भारत लैजान लागिएका ९ बालकको उद्धार
1-June-2016

रुपन्देही, जेठ २० – रुपन्देहीको भैरहवाबाट ९ जना बालकको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोजगारीको प्रलोभन देखाएर सीमा नाका बेलहिया हुँदै भारत तर्फ लैजाँदै गरेको अवस्थामा भैरहवा बर्सपार्कबाट उनीहरुलाई उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै बालकको उमेर १६ वर्ष भन्दा कम छ । उनीहरु मध्ये सात जना चितवन र दुई जना गोरखाका रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई भारत तर्फ लैजान लागेका गोरखाको मनकामना–३ का ३८ वर्षका डलवहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बिक लाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

Write a Comment

Events
Random Picks