पुपाल लेकमा यार्सागुम्बा टिप्नेको लर्को
2-June-2016

नारायण ढुङ्गाना

पुपाल लेक (रुकुम), २० जेठ । रोल्पा उवा गाविस–३ का १७ वर्षीय रवीन्द्र रोका तीन हजार रुपैयाँ तिरेर यार्सागुम्बा सङ्कलन गर्ने अनुमती लिएर पुपाल लेक पुगे । यार्सा खोज्न खुला गरेको पहिलो दिन उनले चार वटा भेट्टाए । करिब एक महिनासम्म यार्सा सङ्कलन गर्ने उनको योजना छ ।

पाँच वर्षपछि रोका यार्सा सङ्कन गर्न आएका उनीसँगै बागलुङका दिलबहादुर पुन र भीमबहादुर पुन पनि पुपाल लेकमा यार्सा सङ्कलन गर्दैछन् । “पहिला ५०/६० वटा यार्सा एकै दिनमा टिपिन्थ्यो, अहिले त दिनमा तीन/चार वटा पनि मुश्लिले भेट्टिन्छ,” उनले भने ।

पुपाल लेकमा अहिले यार्सा सङ्कलन गर्न रुकुम तथा बाहिरी जिल्लाका नागरिक आएका छन् । पूर्वको इटहरीदेखि तराईको रौतहटसम्मका सङ्कलक यार्सा सङ्कलन गर्न यहाँ आएका यार्सा मौसम व्यवस्थापन समितिका कोषाध्यक्ष आइतमान पुन बताउँछन् । असार महिनाभरि नै पुपाल लेकमा ओहोरदोहोर चलिरहन्छ ।

गत वर्ष यहाँ करिब १८ हजार मानिस यार्सा सङ्कलन गर्न आएका थिए । यही जेठ १५ गतेबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्न खुला गरेपछि रुकुमको उत्तर–पूर्वमा पर्ने पुपाल लेकमा अहिले चार हजार बढी सङ्कलक आइपुगेका छन् ।

कतिपय स्थानीयवासी स–परिवार ढोका थुनेरै यार्सा सङ्कलन गर्न यहाँ आइपुगेका छन् । पुपाल लेक समुद्र सतहबाट चार हजार ७ सय मिटरको उचाइमा पर्छ । यार्सा अनुसन्धानकर्ता राजु क्षेत्रीका अनुसार च्याउ प्रजातिमा पर्ने यो बहुमूल्य जडीबुटी शक्तिवद्र्धक तथा औषधिका रुपमा प्रयोग हुने गर्छ । जेठ पहिलो सातादेखि असार मसान्तसम्म यार्सा खोज्ने समय हो ।

एउटा यार्साको मूल्य पाँच सय रुपैयाँ देखि एक हजारसम्म पर्छ । स्थानीयवासीको जीविकोपार्जनको मूल स्रोत भएकाले जिल्ला बाहिर गएकाहरु समेत यो समयमा गाउँ आएर यार्सा सङ्कलन गर्न थालेका छन् ।

उपत्यका जस्तै देखिने पुपाल लेकमा हिउँ भरिएको छ । फेदमा यार्सा सङ्कलकले टेन्ट र त्रिपाल गाडेका छन् । घोडा र खच्चडमार्फत यहाँ सङ्कलकले खाद्य सामग्री ढुवानी गर्दै आएका छन् । कतिपय महिला तथा बालबालिका डोकोभरि बन्दोबस्तीका सामान बोकेर आएका छन् । घोडा खच्चडसहित भारी बोकेर आएका सङ्कलक लावालस्करका साथ पुपाल लेक आउने क्रम रोकिएको छैन ।

Write a Comment