पराकम्पन नरोकिएपनि सर्वसाधारण सामान्य अवस्थातर्फ उन्मुख
29-May-2015

काठमाडौं, जेठ १५ – गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि  लगातार पराकम्प हुने क्रम जारी भएपनि   सर्वसाधारण विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भएका छन् । विनाशकारी भुकम्प पछि त्रासमा रहेका सर्बसाधारण त्यसको भोलिपल्टै (बैशाख १३) शक्तिशाली पराकम्प र बैशाख २९ गतेपनि ६.७ रेक्टरस्केलको शक्तिशाली पराकम्प भएपछि थप त्रसित बनेपनि हाल  सामान्य अवस्थातर्फ फर्किन थालेका हुन् । बैशाख १२ गतेको ७.६ रेक्टरस्कलको शक्तिशाली भुकम्पले हजारौंको घरबार ध्वस्त बनाउनुका साथै कतिले आफन्तसमेत गुमाउनु परेको थियो भने त्यसपछि आएको २९ गतेको पराकम्पले पनि त्यस्तै अवस्था निम्त्याएको थियो ।

दिनहुँको पराकम्प र अनावश्यक हल्लाले मानसिक त्रासमा बाँचेका सर्वसाधारण पछिल्लो दिनमा भुकम्पको पराकम्पनसँग अभ्यस्त हुँदै दैनिकीलाई सहज बनाउन लागिपरेका छन् । घरबार ध्वस्त भएपनि, आफन्त गुमाउनु परेपनि र भुकम्पपछिका पराकम्पन जारी रहेपनि यसलाई विर्सने प्रयास गर्दै अगाडी बढ्ने प्रयासमा रहेको प्रभावित सर्वसाधारणहरु बताउँछन् । ‘पराकम्प अझैं रोकिएको छैन, तर यो भन्दैमा सधै डराएर काम चलाउन पनि सकिँदैन’, राजधानीको बालाजुस्थित एक अफिसमा कार्यरत सारदा थापाले भनिन्, ‘सबै पीडालाई बिर्सेर अब दैनिकीलाई अघि बढाउन थालेको छु ।’ नुवाकोटकी उनको गाउँको घर पूर्ण रुपमा ध्वस्त हुनुका साथै बृद्ध बाबुसमेत घाइते भए भुकम्पबाट । तरपनि सबै पीडालाई बिर्सेर अगाडी बढ्ने प्रयासमा रहेको उनी बताउँछिन् । प्राकृतिक विपत्तीसँग डराउनु भन्दापनि यसबाट पाठ सिक्दै अघि बड्नुपर्छ भन्दै उनले आगामी दिनमा यस्ता विपत्तीसँग सामना गर्न सक्नेगरी आफू र समाजलाई तयार गर्नुपर्नेमा जोड दिइन् । ‘यसपाल भुकम्प आयो, भविष्यमा अरुपनि यस्तै विपत्ती आउन सक्छ, यसबाट पाठ सिक्दै विपत्तीलाई सामना गर्दै अघि बढ्ने हो,’ उनले भनिन् । यसैगरी भुकम्प गएको एक महिनासम्म दैनिक कार्यतालिका अस्तव्यस्त हुनका साथै त्रासमा बाँचेको र अब विस्तारै तंग्रिएर आफ्नो दैनिक काममा लाग्न थागेको बताउँछन्, धादिङ घरभई बालाजु नेपालटारमा बस्दै आएका राजन खतिवडा । उनले भुकम्प र त्यसका पराकम्पले भन्दापनि अनावश्यक हल्लाले समस्या सिर्जना गरेको भन्दै पछिल्ला दिनमा सञ्चारमाध्यले हल्लालाई चिर्न सकारात्मक भूमिका निर्वाह गरेको बताए । ‘ निरन्तरको पराकम्पले त्रास नफैलाउने कुरै भएन, त्यसले भन्दापनि हल्लाले बढी त्रास निम्त्यायो,’ उनले भने, ‘हल्लाको पछि लाग्नेहरुले पनि यथार्थ बुझ्न थालेपछि जनजीवन सामान्य बन्दै जान निकै सघाउ पुग्यो ।’ पछिल्लो समय सामाजिक सञ्जाल र केहि ज्योतिषीहरुले गलत हल्ला फैलाउँदा थप त्रास बढेको थियो । तर, उनीहरुलाई राज्यका संयन्त्रले सचेत गराएपछि र सञ्चारमाध्यमले पनि यथार्थता दर्शाएपछि सर्वसाधारण आस्वस्त हुँदै गएका थिए । पछिल्लो समय भुकम्पका धक्का आउन जारी रहेपनि त्यसलाई वेवास्ता गर्दै सामान्यरुपले जनजीवनमा फर्किन लागेको अधिकांश सर्वसाधारणको भनाई छ । विनाशकारी भुकम्पका कारण राजधानीसहित देशका विभिन्न भागमा साँढे आठ हजारबढी मानविय क्षति हुनुका साथै अर्बौंको भौतिक  क्षति भएको छ । सहरी तथा ग्रामिण क्षेत्रका घरहरु भत्किँदा कयौं मानिसहरु अहिले घरबार विहिन भएका छन् । ग्रामिण र राजधानीमा समेत घर भत्किएसँगै हजारौं मानिसहरु खुल्ला ठाउँमा बसिरहेका छन् । अझँ राजधानीमा त भुकम्पछि बसेको स्थान भत्किएपछि कोठा पाउन पनि छाडेको र पाइहालेपनि निकै महंगो भाडा तिर्नु पर्ने अवस्था रहेको पीतिहरुको गुनासो छ । 

source:http://www.ratopati.com/2015/05/29/236709.html

Events
Random Picks