कसैले जस्ता पाए, कसैलाई पाल छैन
29-May-2015

मन्थली, जेष्ठ १५ - रामेछापका हायु, पकरवास र भटौलीका माझी परिवारले सरकारले दिएको पाल र २ बन्डलका दरले जस्तापाता पाएका छन्। सबैभन्दा बढी धनजन क्षति भएको दुरागाउँका पीडितले अझै एक टुक्रा पनि पाल पाएका छैनन्।

जिल्ला दैवी प्रकोप उद्धार समितिबाहेक सरकारले संघसंस्थालाई पनि खुला गरेपछि राहत वितरण असमान बनेको हो। दुरागाउँका जनार्दन घिमिरेका अनुसार त्यहाँका ३ सय परिवारले टाउको लुकाउने कुनै वस्तु पाएका छैनन्। ‘हेलिकप्टरबाट खाद्यान्न र चाउचाउ झारिन्छ, एकखेपमा १४ बोरा चामलको साटो पाल ल्याएर बाँडिदिए हुन्थ्यो,’ घिमिरेले, ‘असिनापानीले पीडितलाई निदाउन दिएको छैन।’

जिल्ला दैवी प्रकोप उद्धार समितिको दाबी भने फरक छ। कुल ४७ हजार ५ सय घरधुरी प्रभावित भएकामा ५३ हजार पाल वितरण भइसकेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए। आकार र गुणस्तर एकै नभए पनि सबै परिवारलाई पुग्ने गरी पठाइएको उनको दाबी छ।

संघसंस्थालाई चाहेको ठाउँमा राहत वितरण गर्न दिइएकाले सडक सुविधा पुगेका स्थानमा एकै परिवारले ५ वटासम्म पाल र सोहीअनुसार अन्य सामान पाएका छन्। सडक छेउका बासिन्दाले भाँडादेखि विभिन्न परिकारका खाद्यान्न भेटेका छन्। पकरवास, चिसापानी, मन्थली नगरपालिकाका विभिन्न वडा, रामेछाप नगरपालिका, खिम्ती, तिल्पुङ, भीरपानी, खनियापानीलगायत क्षेत्रका पीडितले दिनहुँजसो राहत बुझ्छन्। गुम्देल, प्रिती, कुभुकास्थली, बाम्ती, गोश्वारा, डडुवा, गुप्तेश्वर, भुजीलगायत दुर्गम क्षेत्रमा राहत लाने संस्था विरलै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सडक छेउका परिवारले ४ बोरासम्म चामल बुझेका छन्, दुर्गमका बासिन्दाको भागमा २ किलो मात्र परेको छ।

राहत वितरणमा असमानताका कारण विभिन्न गाविसमा झैंझगडासमेत सुरु भएको छ। राजनीतिक दलका अगुवा नै विभिन्न संस्थाका नाममा राहत बोकेर गाउँ पुग्छन्, जसले आफ्नो पकेट क्षेत्र, कार्यकर्तालाई मात्र समेट्ने गरेका छन्।

सबैलाई समान राहत दिलाउन जिल्ला दैवी प्रकोप समितिबाट मात्र वितरणको व्यवस्था गर्नुपर्ने कांग्रेस जिल्ला सभापति रामचन्द्र खड्काले बताए। ‘सबैले आग्रह गरेका हांै, सरकारले नसुनेको कि नबुझेको हो,’ एमाओवादी जिल्ला इन्चार्ज धावा लामाले भने।