गोलको विवादले विश्वासकाे ज्यान गुम्याे, अनुसन्धानका लागि २० युवा प्रहरी हिरासतमा
14-July-2016


आर्जुंन गिरि 
पाेखरा, ३० आषाढ:

शक्ति युवा क्लब तल्लो गगनगौंडा र जनचेतना युवा क्लब कोत्रे नर्सरीबीच मंगलबार फुटबल खेल भइरहेको थियो । दियालो युवा क्लब लेखनाथ—१३ को आयोजनामा मजुवा खेल मैदानमा गगनगौंडा क्लबले ४ गोल गरिसकेको थियो ।

जब खेलको सेकेन्ड हाफमा कोत्रेतर्फबाट पहिलो गोल भयो अनि विवाद सुरु भयो । बलले जाली चुमे पनि रेफ्रीले ‘गोल भएन’ भन्दै थिए, फेरि उतिखेरै गोल दिए । रेफ्री नै अन्योलमा परेको भन्दै गगनगौंडाका केही खेलाडीले ‘गोल मानिँदैन’ भन्दै थिए । त्यत्तिकैमा गगनगौंडाका किपर चन्द्र पुन र कोत्रेका खेलाडी सन्दीप गुरुङबीच हात हालाहाल भयो ।

आयोजकले त्यसलाई ठूलो रुप लिन दिएन । दुवै टिमलाई छुट्याएर खेल स्थगित गर्‍यो । आयोजकले गगनगौंडाको टिमलाई गगनगाैडा जाने बाटोतिर लाइदियो भने कोत्रे जानेलाई त्यतैतिर पठायो । कोत्रेका केही युवा भने बाइकमा गए । धेरैजसो युवा हिँडेर आ–आफ्नो धुनमा घरतिर लागे । त्यत्तिकैमा प्रहरी पनि आइपुग्यो । अनि गगनगौंडाका दुई जनालाई नियन्त्रणमा लियो ।

कोत्रे घर भएका विश्वास थापा, हेमन्त थापा र सन्दीप गुरुङ बाटोमा हिँड्दै थिए । उनीहरु कोत्रे पुल के पुगेका थिए गगनगौंडाका केही युवा बाइकमा हुइँकिँदै आएर बाटो छेके । त्यसरी बाइकमा युवा आएपछि कोत्रेका ती तीनजना युवा फेरि मजुवातिर फर्किए ।

बाइकमा आएका गगनगाैडाका युवकले आफुहरुलाई भेट्टाउला भन्ने डरले हाइवे छाडेर भित्री बाटो हुँदै मकैबारी तिर भागे । त्यत्तिकैमा सन्दीप गुरुङ स्थानीयको घरमा गुहार मागेर कोठाभित्र लुक्न सफल भए । यता हेमन्त र विश्वास भने कुटाइ खाने डरले भाग्दै थिए ।

त्यत्तिकैमा शारीरिक रुपले बलिया हेमन्त कोत्रे घाटमाथितिर भागे भने विश्वास घाटतलको खोंचतिर लागे । ती युवा पनि विश्वासकैपछि लागे । त्यसको केही बेरमै युवा फर्किए । तर विश्वास भने फर्किएनन् ।

भागाभाग भएको केहीबेरमा लेखनाथ–१३ कोत्रेघाट खोला किनारमा १८ वर्षीय विश्वासको शव फेला पर्‍यो । उनको टाउकोमा गम्भीर चोट लागेर ज्यान लछारिएको देखियो । कुटपिटबाट ज्यान गयो कि भिरबाट लडेर भन्ने कुरामा अझै अन्योल रहेको स्थानीय बताउँछन् ।

घटना भएपछि प्रहरीले गगनगाैडाका १३ जना युवा नियन्त्रणमा लिएको छ भने कोत्रेका ६ जना युवा प्रहरी हिरासतमा छन् । कास्की प्रहरीकहाँ गगनगौंडाका ६ जना युवाविरुद्ध किटानी जाहेरी दिइएको विश्वासका मामा कृष्ण आलेले समाधानसँग बताए ।

जसमा गगनगौंडाका १९ वर्षीय सुलभ खत्री, १९ वर्षीय समीर प्रधान, १९ वर्षीय पञ्कज केसी, १७ वर्षीय आशीष कुँवर, १८ वर्षीय मनबहादुर पुन र २० वर्षीय विनस केसी छन् । उनीहरु लगायत गगनगौंडाकै चन्द्र पुन, विशाल गुरुङ, अनील राना, सन्दीप पुन, अमृत बोहरा र विवश पुन प्रहरीको हिरासतमा छन् ।

त्यसैगरी प्रहरीले कोत्रेका दिनेश गुरुङ, कृष्ण गुरुङ, सन्दीप गुरुङ, सञ्जीव गुरुङ हेमन्त थापा र विशाल गुरुङलाई पनि हिरासतमा राखेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिसुवाका इन्स्पेक्टर मित्रबहादुर आचार्यले बताए । ‘आयोजकले फुटबल खेलाउँदै छु भनेर प्रहरीकहाँ जानकारी दिएको भए यस्तो हुँदैन्थ्यो होला,’ आचार्यले भने, ‘झगडा भएपछि मात्र गगनगौंडाका सई सा’बलाई खबर आएपछि मैले तुरुन्तै खटिन भनेको थिएँ ।
समाधान संवाददाता 

Write a Comment

Events