क्राइमको सिकार बन्ने जोखिमको पत्रकारिता
17-July-2016

अर्जुन गिरी
वरिष्ठ संवाददाता
समाधान दैनिक, पोखरा
‘नारायणथान मुन्तिर टनेलमा बच्चा भेटियो,’ कसैले सुनायो । नदीपुरमा बस्ने मलाई त्यो खबरले ध्यान खिच्यो । सामान्य नागरिककै नाताले पनि त्यो घटनास्थलमा जान मन भइहाल्थ्यो, त्यसमाथि पत्रकारिता पढिरहेको विद्यार्थी थिएँ । १२ कक्षाको आन्तरिक परीक्षा थियो विद्यालयमा । तर के सुर चल्यो कुन्नि, परीक्षा छाडेर त्यो घटनाको रिर्पोटिङ गर्ने हुटहुटी चल्यो र तुरुन्तै घटनास्थल पुगें । स्थानीयहरुसँग कुराकानी गरें, त्यहाँ पुगेका प्रहरीसँग सोधपुछ गरें । रिपोर्टिङ तयार गरेर आफूलाई पत्रकारिता पढाउने बद्रीविनोद प्रतीक सम्पादक रहेको हिमदूत दैनिकलाई दिएँ । भोलिपल्ट बाइलाइनमा समाचार छापियो । तस्बिरमा पनि नाम थियो मेरो । कसको बच्चा थियो त्यो र कसरी कसले फालेको थियो भन्ने पत्तोचाहिँ लागेन । तर त्यो समाचार छापिएको पत्रिका देखेर म दंग थिएँ । दिनभरि मन खुसी भयो । घरी ओछ्याउनमा पल्टिँदै, घरी उभिएर त घरी कुर्चीमा बसेर त्यही एउटा पत्रिका र आफ्नो नाम पटकपटक हेरिरहें । आफ्नो बाइलाइनलाई धेरैपटक सुम्मुम्याएँ ।
त्यसरी अचानक गरेको पहिलो समाचार ‘क्राइम बिट’को थियो । संयोग थियो या अरु केही तर, त्यसपछि मैले पत्रकारितामा यही बिटलाई रोजें र समाचारहरु लेखिरहेको छु । बाबा आर्मी हुनुहुन्थ्यो, दुश्मनहरु ढलाउनुहुन्थ्यो । दाइहरु करातेका खेलाडी । मैले पनि दाइहरुको पदचाप पछ्याएँ र करातेमा पारंगत बनाएँ आफूलाई । आफूले कसैलाई आक्रमण गर्नका लागि होइन, अरुबाट बच्नका लागि हो कराते भन्ने थाहा पाएँ । बाबाले बन्दुक र राइफलले दुश्मन ढलाएँझैं मलाई पनि समाजका दुश्मनहरुलाई कलमको माध्यमबाट ढलाउने हुटहुटी जाग्यो । रस यस्तो बस्यो कि क्राइम रिर्पोटिङबाहेकमा अन्त आँखै नलाग्ने भयो । जोखिम लिन चाहने र साहसिक काम गर्नुपर्ने मेरो रुचिलाई यो बिटको माध्यमबाट व्यवहारमा उतार्न पाइने लाग्यो । त्यसैले यो विधाको रिपोर्टिङमा आनन्द प्राप्त भइरहेको छ । कर्पोरेट जर्नालिजको यो जमानामा पत्रकारिताको आधारभूत सिद्धान्त अनुरुप उठाउनुपर्ने ‘आवाजविहीनहरुको आवाज’ यो बिटबाट मज्जैले उठाउन पाउँदा पनि खुसी लाग्छ ।
पछिल्लो समय पोखरामा जग्गा प्लटिङ मौलाउँदो थियो, त्यसैमा मौलाइरहेको थियो, दादागिरी । एउटा निर्धाे र सोझो मान्छेले आफ्नै घडेरी बेच्दा पनि गुन्डाहरुलाई पैसा खुवाउनुपथ्र्याे नत्र ज्यान जोखिममा पर्ने । फलाना नेताले यस्तो बताएका छन्, फलाना व्यापारीले यस्तो व्यापार गरे भनेरमात्रै पत्रपत्रिकामा धेरै समाचार आइरहने तर, त्यस्तो गुन्डागर्दी विरुद्ध खासै कलम चलेको थिएन । मैले आँटें, मलाई अन्यायविरुद्ध लेख्नु नै पत्रकारिता हो भन्ने लाग्यो । लेखनाथ नगरपालिकामा केही टोले गुन्डाहरुले सनसनी मच्चाइरहेका थिए । त्यहाँका स्थानीय कसैले खुकुरी खाएका थिए त कसैले मुक्का । मैले गुन्डाहरुको नामै किटेर लेखें । पछि प्रहरीले खोजीखोजी समात्यो । ती गुन्डाका आसेपासेहरु फोन गर्थे र भन्थे, ‘बाँच्न मन छैन ? मैले जवाफ दिन्थें, तिमीलाईहरुलाई कि मलाई ? अलि चर्काे स्वर नगरी नहुने तिनीहरुसँग ।


प्राकृतिक डाँडाकाँडा खार्दै घडेरी बनाएर बेच्ने र वरपरका जग्गाधनीहरुलाई धुरुक्कै रुवाउने अर्काे प्रवृत्ति बेस्सरी मौलाएको देखिएपछि मैले कलम चलाएँ । फेरि टोलेहरुको धन्दा रोकियो । बिचराहरुको खानेबाटो हराएपछि निद हराम भयो । मेरो निद हराम गराउन चाहे । धम्की दिने र बाटोघाटोमा पनि उनीहरुले निगरानी गर्ने गर्न थाले । निगरानी गरेको संकेत दिने तर केही नगर्ने शैलीमा तर्साउने उनीहरुको चालबाट म बिचलित भइनँ । जति डरायो, उति तर्साउने रैछन् भन्ने बुझिहालें । सबै राजनीतिक दलका नेताहरुलाई हातमा लिएर बालुवा ठेक्का लिने र गुन्डै लगाएर स्थानीयलाई तर्साउने अर्काे धन्दा लेखनाथको लामगादीमा यही वर्ष भयो । तत्कालीन एलडिओ रामचन्द्र तिवारीले कुनै प्रक्रिया पूरा नगरी सेतीनदीबाट बालुवा झिक्न अनुमति दिएका रहेछन् । लामगादीका ७ सय परिवार स्थानीयको उठिबास लगाउने ठेक्कामा जनताको पक्षमा बोल्दिने कोही भएन । नेता बिकेकै थिए, अरु को बोल्ने ? त्यो पनि गुन्डाहरु गएर दिनदिनै स्थानीयलाई धम्क्याउँथे । मेरो ब्रह्मले त्यो समाचार बनाउनै पर्ने देख्यो । बनाएँ । ठेक्का रोकियो ।
पत्रकारितामा लागेर पैसा कमाइँदैन । तर, दालभात पुग्ने तलब दिनसक्ने हैसियम म सम्बद्ध पत्रिका समाधान दैनिकले बनाएको छ । पैसाले कसलाई पो पुग्छ र ? तर चित्तबुझ्दो र सुहाउँदो पारिश्रमिक दिन सकेको छ समाधानले । त्योभन्दा बढी खुसी भने अन्यायका विरुद्ध कलम चलाउँदा आइरहेको छ । मनै आनन्द हुने त्यस्ता दर्जनौं समाचार लेखिसकेपछि अब यो पेसाबाट बाहिरन हुन्न भन्ने लाग्न थाल्यो । स्नातकसम्मको पढाइ पत्रकारिताको थियो नै । यही पेसा गर्ने हो सधैं भने स्नातकोत्तर पनि गर्नुपर्छ भनेर अहिले पढिरहेको छु । पढाइ र पेसा सँगसँगै छन् । ६÷७ वर्षको छोटो पत्रकारिता अनुभवबाट मैले थाहा पाएको सत्य के हो भने सत्य लेख्दा शत्रुहरु जन्मन्छन् । दुश्मनहरु बढ्छन् । खोट खोज्नेहरु उक्सन्छन् । तर, एक ठाउँमा नचुकेपछि कसैले रौं हल्लाउन सक्दैन । कोरा र तथ्यविहीन आलोचना पनि लेख्न हुन्न भन्ने कुरा म भित्रैदेखि मनन गर्छु । यस्तो कार्यक्रम भयो, उस्तो कार्यक्रम भयो भन्ने सपाट सूचनामात्रै लेखेर पत्रकारिता गर्नुभन्दा यो पेसा छाडेकै जाती हो । पत्रकारिता गरिसकेपछि विकृति, विसंगति औंल्याउनैपर्छ । तर, एप्रोच भने नेगेटिभ हुनुहुन्न । त्यसो भए समाजमा आफ्नो छवि पनि उज्यालो हुन्छ । स्कुलमा घोकेन्ते आधारमा पढियो, तरबारभन्दा कलम बलियो । तर, अहिले साँच्चै गुन्डाहरुका तरबारभन्दा कलम कसरी बलियो रैछ मैले यसबीचमा अनुभव गरेको छु । हुन पनि विश्वविजेता बन्न कस्सिएका नेपालियनले त्यसै भनेका रहनछन्, ‘मलाई हजारौं सैनिक भएको दुश्मनसँग भन्दा एउटा समाचारपत्रसँग डर लाग्छ ।’

Source : Sabal Nepal/Deepak Naupane

Write a Comment